रुपन्देही १२ असार ।भारी वर्षाका कारण बुटवलको मुख्य शहरक्षेत्रको राजमार्ग डुबेको छ। नालीको पानीको निकास सानो भएका कारण सडक भरिएपछि यातायात प्रभावित भएका छन्। मिलनचोकदेखि कालिकानगरसम्मको राजमार्ग र सर्भिस लेन सडककै पानी भरिएर डुबान भएको हो । बाढी पसेपछि केहीबेर यातायात समेत अवरुद्ध भएको थियो।
गोलपार्कदेखि राजमार्ग चौराहासम्म एकाएक भारी वर्षा भएपछि सडक क्षेत्रको पानी सडकमै भरिएको थियो । कालिकानगरतर्फबाट आएका र पार्क गरेर राखेका गाडी पानीमा डुबेका छन् । यो क्षेत्रको नालीको निकास उपयुक्त नहुँदा वर्षेनी डुबान हुनेगरेपनि सडक डिभिजन, बुटवल उपमहानगरपालिकाले चासो देखाउँदैनन् । यस्तै नियमित बर्षाले गर्दा खोलाहरुमा पानीको बहाब बढेपछि दाङको घोराही–तुलसीपुर आवतजावत ठप्प रहेको छ ।
सोही सडक खण्डका पत्रेखोला, सेवार खोला र हापुर खोलामा पानीको बहाब बढेपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । स्थानीयका अनुसार पत्रेखोलामा यस बर्षकै सबै भन्दा बढि पानीको बहाब बढेको छ ।शनिबार दिउसोदेखि साना तथा ठूला कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । यी खोलाहरुमा पुल नुहँदा आवातजावतमा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनले नदी तथा खोलामा पानीको बहाब बढेकाले सचेत रहन आग्रह समेत गरेका छन् ।








प्रतिक्रिया