काठमाडौं, १३ असार । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् । तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ । जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन् । अस्पताल आफैले खरिद गरेका अन्य दुई पनि बिग्रिएकाले स्टोरमा थन्क्याइएको महाकाली अस्पतालका स्टोर प्रमुख तिलक जोशीले जानकारी दिए ।
कोरोना महामारीका वेला सुविधासम्पन्न उपकरण थन्किएपछि बिरामीको उपचारमा समस्या भोग्नुपरेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आइसियू सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग पटक–पटक माग गर्दासमेत जनशक्ति नदिएको बताए । ‘हामीले यो महामारी मध्यनजर गर्दै कोरोना संक्रमितको उपचारका लागि जनशक्ति माग गरिरहेका छौँ, तर कहीँकतैबाट पहल हुँदैन, ‘उनले भने, ‘हामी महामारीको उच्च जोखिममा छौँ ।’ जनशक्ति अभावमा भेन्टिलेटरप्रयोगविहीन
कोभिड दोस्रो लहरको हटस्पट बनेको सुदूरपश्चिममा नियति अझ दर्दनाक छ । उपचार अभावमा थुप्रैले ज्यान गुमाए । तर, प्राण बचाउन सहयोगी मानिने भेन्टिलेटर थन्किएर बस्यो । कारण हो, जनशक्ति अभाव ।
संघ र प्रदेश सरकार तथा दातृ निकायबाट समेत गरी टीकापुर अस्पतालले यसै वर्ष १२ वटा भेन्टिलेटर प्राप्त गरेको छ । तर, जनशक्ति नहुँदा ती प्रयोगविहीन छन् । प्रदेश सरकारले सात महिनाअघि टीकापुर अस्पतालमा दुईवटा भेन्टिलेटर जडान गरेको थियो । त्यसयता, अस्पताललाई संघीय सरकारले चार वटा र युएनडिपीले एउटा भेन्टिलेटर दिएको छ ।
यहीबीचमा कोरोना संक्रमण दर उच्च हुँदा अस्पतालमा बिरामीको चाप बढ्यो । कोरोना संक्रमितले अस्पतालबाट भेन्टिलेटरको सुविधा भने पाएनन् । उपकरण भएर पनि चलाउने जनशक्ति नभएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई अस्पतालले अन्यत्र रेफर गर्नुपर्यो । कोरोना संक्रमित केहीले अस्पतालमै ज्यान गुमाए ।
‘भेन्टिलेटर सुविधा भएको केहीको ज्यान जोगाउन सकिन्थ्यो होला,’ टीकापुर अस्पतालका मेसु डा. रेमकुमार राईले विवशता पोखे, ‘चलाउने जनशक्ति नभएपछि उपकरण भएर मात्र के गर्नु ?’
मंगलबार मात्र नेपाल अविष्कार केन्द्रले टीकापुर अस्पताललाई पाँच वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । अहिले जानकी गाउँपालिकाले तलब दिने गरी भेन्टिलेटर चलाउन एकजना एनेस्थेसियोलोजिस्ट नियुक्तिको प्रक्रिया अगाडि बढाइएको मेसु राईले बताए । भवन र जनशक्तिको अभावले पाँचवटा मात्रै भेन्टिलेटर चलाउने अस्पतालको तयारी छ । प्रदेश सरकारले मागेमा बाँकी भेन्टिलेटर दिइने उनले बताए
प्रतिक्रिया