कपिलवस्तु १५ असार ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ३२ जना कृषकलाई मिनि टिलर वितरण गरिएको छ । साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरका ३२ जना कृषकलाई उक्त मिनि टिलर वितरण गरिएको हो । किसानको ५० र नगरपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
चालु आवमा नगरले किसानका लागि आधुनिक कृषि सामग्री वितरणको कार्यक्रम ल्याएको भन्दै केही दिनमा अझै कृषियन्त्र वितरणको तयारी रहेको उहाँले बताउनुभयो । नगरपालिकाका कृषि शाखा प्रमुख देवीराम बेल्वासेले नगरभित्र चाप कटर १५ जना, ब्रस कटर ७ जना, पम्प सेट ७ जना र मोटर दुई जनालाई ५०/५० अनुदानमा दिइएको बताउनुभयो । किसान स्वयमले यी सामग्री खरिद गरी भुक्तानीको लागि नगरपालिकामा बील पेश गरेपछि अनुदान रकम दिइने उहाँले बताउनुभयो ।
शाखा प्रमुख बेल्वासेका अनुसार मिनि टिलरका लागि ३५ हजार, चाप कटरका लागि २० हजार, ब्रस कटरका लागि १२ हजार ५ सय, पम्प सेटका लागि २३ हजार, मोटरका लागि १५ हजार र कम्बाइल मिलका लागि २२ हजार ५ सय रकम किसानले आफ्नो खातामा पाउने उहाँले बताउनुभयो ।नगरपालिकाले किसानका लागि कोटा तोकेरै अनुदानका लागि मागको सूचना निकालेको थियो । स्थानीय र प्रदेश भित्र सूचिकृतमा रहेका सप्लार्यसबाट किसान स्वयमले सामग्री खरिद गरी आवश्यक अनुदान रकम पाएका हुन् ।
कृषि क्षेत्रमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्नका लागि अनुदानमा सामग्री दिइएको बेल्वासेले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरले चालु आवमा किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याएको बताउनुभयो । किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा विभिन्न उपकरण दिइएको उहाँले बताउनुभयो । यो बर्ष नगरले कृषिका लागि मासु पसल सुधार, डेरी सुधार, भकारो सुधार, मिनि टिलर, पानी तान्ने पम्पमा अनुदान दिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया