काठमाडौँ २२ . असार। एमाले कार्यदलमा केही संगठनात्मक विषय सहमति नजिक पुगेको र केही विषय अझै असहमतिकै तहमा रहेको पाइएको छ । कार्यदल सदस्यहरुका अनुसार सोमबारबाट असहमति रहेका विषयमा सहमति खोज्ने प्रयास सुरु भएको छ । जेठ पहिलो सातापछि निष्क्रियजस्तै कार्यदल सोमबार नै ब्युँतिएको छ ।एक सदस्यका अनुसार ‘सम्पूर्ण हिसाबले सबै तहका पार्टी र जनसंगठनका कमिटीहरु पूर्ववतः अवस्थामा फर्काएर क्रियाशील रहने’ भन्ने विषयमा करिब सहमति भएको छ । तर, ‘पूर्वमाओवादीबाट गएका नेताहरुलाई कमिटीमा ल्याउने प्रक्रिया के ? ’ भन्ने विषयमा अझै सहमति हुन बाँकी छ ।यसबाहेक एमालेको केन्द्रीय कमिटी २०३ वा २४१ सदस्यीय भन्नेमा अझै सहमति हुन बाँकी छ । २४१ हुँदा माधव पक्षबाट छुटेका सिनियर नेताहरुलाई थप्ने प्रस्तावमा पनि सहमति हुन बाँकी रहेको कार्यदलका ती सदस्यले बताए यसबाहेक प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतमा दायर रिटमा प्रयोग भएका एमालेकै निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिने विषयमा अझै सहमति बनेको छैन् । यद्यपि ओली अदालतको निर्णयअनुसार अगाडि बढ्न लचक भएको उनले बताए ।ती सदस्यले भने, ‘अदालतको सन्दर्भमा साझा भाषा लेख्ने भन्ने छ ।’ एमालेको संस्थापनपक्षले भने सोमबार साँझ पाँच बजेसम्म यस्तो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । एमालेका २३ निर्वतमान सांसदको सर्वोच्चको रिटमा हस्ताक्षर प्रयोग भएको छ ।यस विषयमा ओली पक्षको प्रस्ताव भने, ‘ पार्टी र संसदीय दलको विधान अनुसार संस्थागत ढंगले पार्टीले एकताबद्ध भएर निर्णय गर्ने’ भन्ने रहेको ती सदस्यले सुनाए । तर, हरेक विषय ‘सहमतिमा’ सस्थागत ढंगले निर्णय गर्नुपर्ने नेपालपक्षको प्रस्ताव छ । यसमा पनि सहमति हुन बाँकी रहको उनले बताए । अहिलेसम्म भएका अनौपचारिक कुराकानीलाई औपचारिकता दिन ओली तयार भएपछि कार्यदल ब्युँतिएको र थप संवाद सुरु भएको ती नेताले बताए ।‘अनौपचारिक भएका कुरालाई औपचारिकता दिने काम कार्यदलबाटै गरौं भनेर ८/१० दिन देखि नै जोड दिइराखेका थियौं । त्यसै अनुसार कार्यदलले औपचारिक रुपमा काम सुरु गरेको छ । तर छलफललाई लम्ब्याउनु हुँदैन भन्नेमा सबै सहमत छन्’, ती सदस्यले भने ।नमिलेका सबै विषय कार्यदलले टुंग्याए त्यसमा आफ्नो सहमति हुने नेपालले बताएका छन् । यसमा ओली पनि सहमत रहेको उनले बताए ।कार्यदल ब्युँतिएर औपचारिक रुपमा काम सुरु गरेपछि ओली र नेपालबीचको संवाद अगाडि बढ्ने सम्भावना रहेको ती सदस्यले बताए एमाले विवाद समाधानका लागि गत जेठ २ मा कार्यदल बनेको थियो । तर, झलनाथ खनाल–नेपाल पक्षका २३ सांसदले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा हस्ताक्षर गरेपछि कार्यदल निष्क्रिय भएको थियो । त्यसैबेला कार्यदल संयोजक भीम रावल नै कारबाहीमा परेपछि कार्यदलको बैठक बस्न सकेको थिएन । यसबीचमा रावलबाहेक कार्यदलका अन्य नेताहरुको अनौपचारिक बैठक भने भएको थियो ।तर, आइतबार राति ओली र रावलबीच भेट पछि सोमबार कार्यदल ब्युँतिएको पहिलो बैठक बसेको हो । अर्को बैठक मंगलबार बस्दैछ ।कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
२२ असार २०७८, मंगलबार
प्रतिक्रिया