कपिलवस्तु २६ असार ।कपिलवस्तुले एकैसाथ २ बुद्धको प्रतिमा अनावरणको अवसर पाएको छ । क्रकुछन्द बुद्ध र कनकमुनि बुद्धको सुन्दर प्रतिमा क्रमश गोटीहवा र निगालीकोट(अरौराकोट) मा अनावरण गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तुमा पहिलो र दोस्रो बुद्धको प्रतिमा अनवरण गर्नु भएको हो । दुबै बुद्धका जन्म स्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको थियो । शनिवार आज प्रतिमा अनावरण गर्दै मुख्यमन्त्री पोख्रेलले दुवै बुद्धका जन्मस्थल प्रमाणित भइ सकेकोले यसको संरक्षणमा जोड दिनु पर्ने बताउनु भयो ।
कपिलवस्तुका २ पुरातात्बीक स्थानमा २ मानव बुद्धको मुर्ति सहितको पार्क प्रदेश सरकारले वनाएपनि यो काम नेपालकै इतिहासमा पहिलो भएको मुख्यमन्त्री पोखरेलको भनाइछ । भारतीय खण्डका शासक अशोकले प्राचिन कालमा अशोक स्तम्भ गाडेर पहिचान दिलाएका गोटीहवा र अरौराकोट अव सुन्दर वगैचा सहितका बुद्ध प्रतिमा युक्त पार्कमा रुपान्तरण हुने छन् ।
संसारकै पर्यटक पहिलो र दोस्रो बुद्धको जन्म स्थल कपिलवस्तु घुम्न आउने हुदा प्रतिमा सहितको पार्कले सौन्दर्य बढाई पर्यटन प्रवद्र्धन गर्ने बताउनु भयो । मुख्यमन्त्री पोख्रेलले निर्माण गरिएको संरचनाको स्थानीय समुदाय र पालिका मिलेर संरक्षण र थप विकास गर्नु पर्ने समेत बताउनु भयो । कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवामा संसारको पहिलो बुद्ध, क्रकुछन्द बुद्धको मुर्ति अनावरण गर्नु भएको थियो । अनावरण गरेको प्रतिमा नेपालको लागि क्रकुछन्द बुद्धको पहिलो प्रतिमा बनेको छ । क्रकुछन्द बुद्धको प्रतिमाको स्वरुप म्यान्मारबाट लिइएको मुख्यमन्त्री शंकर पोख्रेलले बताउनु भयो ।यसै गरी संसारकै दोस्रो बुद्ध कनकमुनि बुद्धको प्रतिमा समेत अनावरण गरिएकोछ । जन्मस्थल कपिलवस्तु नगरपालिका वडा नं. ११ अरौराकोटमा एक समारोहको आयोजना समेत गरिएको थियो ।
पित्तल धातुबाट निर्माण गरिएको एउटा प्रतिमा बनाउदा १६ लाख ५० हजार खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताउनु भयो । उहाले गोटिहवाको पार्क २० लाख १७ हजार ८ सय ५६ र अरौराकोट पार्क ३० लाख ५ हजार ७ सय ९९ को लागतमा तयार गरिएको प्रेसपाटीलाई वताउनु भयो । लुम्बिनी प्रदेश सरकारको योजना अनुसार डिभिजन वन कार्यालयले उपभोक्ता समिती मार्फत निर्माण गरेको हो ।








प्रतिक्रिया