अर्घाखाँची २९ असार ।६ वर्षअघि दुई छोरीसहित श्रीमतीलाई जलाउन खोज्ने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ का तुलबहादुर बन्जाडे पक्राउ परेका छन् । २०७२ साल कात्तिक ६ गते बेलुका जाँडरक्सी खाएर घर पुगेका बन्जाडेले श्रीमतीसँग विवाद भएपछि राति आफ्नै घरमा आगो लगाएका थिए । आगलागीबाट घर जलेर ध्वस्त भएको थियो । श्रीमती र दुई छोरी भने घरबाहिर रहेकाले बाँचेका थिए ।
आगलागीबाट एउटा भैँसी र चार वटा बाख्रा समेत जलेर मरेका थिए । घरमा आगो लगाएर भागेका तुलबहादुरलाई प्रहरीले जङ्गलबाट पक्राउ गरेको थियो । केही दिन पछि धरौटीमा छुटेका तुलबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसला पछि उनी फरार थिए । उनलाई चितवनको भरतपुर महानगरपालिका वडा नं ११ अमनचोकबाट गएको शुक्रवार पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया