काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आज (आइतवार) को प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् ।२२एमाले सांसदले समेत मत दिएका छन्।
कांग्रेस सांसद गगन थापाले पनि देउवाले १६५ मत पाएको जानकारी दिएका छन् । देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन् ।देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन् । असार २९ गते प्रधानमन्त्री नियुक्तभएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानछ।
पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए ।विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन् । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुने छन् ।
प्रतिक्रिया