गुल्मी ४ साउन । गुल्मी जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै बेथिति मुसिकोट नगरपालिकामा फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणको क्रममा मुसिकोट नगरपालिकामा अपारदर्शीताका २७ काण्ड फेला परेका हुन् ।सम पूरकको रकम पूँजीगत शीर्षकमा खर्च गरेको देखि कुनै विवरण अद्यावधिक नगरेको र डोजरका नाममा भ्रष्टाचार गरेका लगायतका अनियमिततालाई महालेखा परीक्षकको कार्यालयले उजागर गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदनमा नगरपालिकाले साविक गाविसमा रहेका बेरुजुको लागत अद्यावधिक नगरेको, वार्षिक लक्ष्य अनुसार प्रगति गरेको देखिने विवरण तथा अनुसूची २ तयार नगरेको उल्लेख छ । यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले एक आर्थिक वर्षमा सम्पादन गरेका कार्यहरू सम्पन्न भएपछि जाँचपास तथा फरफारक गर्नुपूर्व सार्वजनिक परीक्षण गराउनुपर्नेमा समेत सो नगरपालिकाले त्यस्तो फरफारक नगरेको प्रतिवेदनमा खुलासा गरिएको छ ।
वडा कार्यालयबाट नगरपालिकामा प्राप्त राजश्व यकिन गर्न सुपरिवेक्षण तथा अनुगमन गर्ने नगरेको, नगरपालिकाको आन्तरिक आय वृद्धिको लागि पर्यटकीय एवं सांस्कृतिक क्षेत्र लगायतका सम्भावनाको खोजी नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै नगरपालिकाले संघीय सशर्त र समपूरक अनुदान तथा प्रदेश समपूरक अनुदानको रकम नगरपालिकाले चालु तथा पूँजीगत शीर्षकमा खर्च गरेको, डोजर भाडा निर्माण व्यवसायीलाई भुक्तानी गर्दा कर बिजक नलिइ भर्पाइका आधारमा गरेको, पहिरोको सफाई गरेको भनी परिमाण र स्थान नखुलाई घण्टाको आधारमा डोजर खर्च लेखेको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया