अर्थ-वाणिज्य

सिनर्जीवाट लुम्विनी प्रदेशका सहकारीले सिक्ने चरणको सुरुवात :सांसद पन्थी



कपिलवस्तु  ९ साउन ।कपिलवस्तुमा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. वाट प्रदेशका अन्य सहकारीले सिक्ने चरणको सुरुवात भएको प्रदेश सांसद विष्णु पन्थीले वताउनु भएको छ । उहाले साविक हथौसाको  भड्डिहवा/प्रगतिनगर सेवा केन्द्र एक कार्यक्रमका बीच समुद्घाटन गर्दै यस्तो वताउनु भएको हो । ६ वटा फरक फरक सहकारी मर्ज भएर बनेको यस सहकारीले नगरका सबै वडामा शाखा विस्तार गर्ने क्रममा प्रगती नगरमा शाखाको सेवा शुभारम्भ गरेको हो । 

सांसद पन्थीले विधि प्रक्रिया र पारदर्शिता भएको खण्डमा संस्था सहजै चल्ने बताउँदै केही समय अगाडि ६ वटा सहकारीहरुबीच मर्ज भएको संस्थाको लागि अवसर र चुनौती दुवै भएको बताउनुभयो । सांसद पन्थीले चुनौतीलाई अवसरको रुपमा लिदै संस्थालाई प्रदेशकै नमुना सहकारीका रुपमा विकास गर्न आफूबाट सम्पूर्ण सहयोग हुने बताउँदै सहकारीलाई त्यसैअनुरुप लागिपर्न आग्रह गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि एवम् बाणगंगा नगरपालिकका मेयर मंगल प्रसाद थारुले सहकारी भनेको सहकार्य भएको बताउँदै सहकारीले विपन्न वर्गको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै सहकारीले आफ्नो उद्देश्य प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा बाणगंगा न.पा. वडा नं. १० का वडा अध्यक्ष राम विहारी थारुले एकका लागि सबै र सवैका लागि एक भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी भएको बताउँदै यस क्षेत्रमा सिनर्जी सहकारीको सेवा केन्द्र स्थापना हुनु सबैको लागि खुसीको कुरा भएको बताउनुभयो ।

यसैगरी वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले सबै सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भएको बताउँदै यस क्षेत्रको समग्र विकासमा सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सुद्धोधन गाउँपालिकका वडा नं. १ का अध्यक्ष तिलकराम यादवले समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने र यस क्षेत्रको आर्थिक, सामाजिक विकास गर्न सहकारी सफल हुने बताउनुभयो । 

कार्यक्रममा सहकारीका उपाध्यक्ष कुलराज पौडेलले आफूहरुले नीति र विधिमा रहेर काम गर्ने बताउँदै सहकारीको आगामी भविष्य उज्ज्वल रहेकोले आफूहरु सहकारीलाई सफल पार्न व्यापक रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीका विज्ञ सदस्य एवम् सामाजिक अभियन्ता डम्बर शर्माले बाणगंगा नगरपालिका, सुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाको संगम स्थलमा सहकारीको शाखा स्थापना हुनु यस क्षेत्रकै लागि महत्वपूर्ण भएको बताउँदै यस क्षेत्रको रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।


सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासले संस्था मर्ज हुनु हाम्रा लागि अवसर र चुनौती दुवै भएको बताउँदै आफूहरुले मर्ज हुनु संस्थाको लागि अवसरुको रुपमा लिएको बताउनुभयो । बेल्बासले सहकारी रणनीतिक योजना अनुसार विधि र पद्धतिले संचालन भएको बताउँदै लुम्बिनी प्रदेशको नमुना सहकारी बनाउन आफूहरु व्यापक लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

कृषि बहुउद्देश्यीय सहकारी संस्था बोडगाउँ, सिनर्जी बतथ तथा ऋण सहकारी संस्था लि.बनगाई र घरघरमा बचत तथा ऋण सहकारी संस्था बोडगाउँ, बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था चप्परगाउँ, अभियान कृषि सहकारी संस्था भड्डीहवा र उज्ज्वल महिला कृषि सहकारी संस्था बोडगाउँबीच एकीकरण भई सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भएको हो ।

सरकारले सहकारी एकीकरणलाई आगामी आर्थिक वर्षदेखि प्रोत्साहन गर्ने नीति लिएपछि यहाँका सानाठूला ६ सहकारी एकीकृत भएका हुन् । संस्थाले आ.व. २०७७/०७८ मा २ अर्व  ४७ करोड को कूल करोवार, ५५ करोड कर्जा प्रवाह, ४२ करोड निक्षेप संकलन, १० करोड २१ लाख शेयर पुजी रहेकोमा सहकारीमा ८ हजार १ सय शेयर सदस्य रहेको छन् । 

कार्यक्रममा बाणगंगा नगरको समृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्नुहुने समाजिक अभियन्ताहरु उमानाथ पौडेल, रुक बहादुर भुसाल, अर्जुन खरेल, संस्थाका कोषाध्यक्ष चिरंजीवी पन्थ, पत्रकार कृष्णप्रसाद पौडेल लगायत १ सय ५० बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका सचिव कृष्णप्रसाद न्यौपानको संचालन रहेको कार्यक्रमा स्वागत सेवा केन्द्र शुभारम्भ समितिका संयोजक चेतनारायण ढकालले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता लक्ष्मण बेल्बासेले गर्नुभएको थियो ।

प्रकाशित : ९ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६