बुटवल १६ साउन । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउंदै आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् ।
‘संविधानको धारा १६८ (१) बमोजिमको अल्पमतको सरकार जबरजस्ती चलाइरहेको अवस्थामा सरकारलाई विघटन गरी १६८ (२) बमोजिम बहुमतको सरकार निमार्णको लागि मार्ग प्रशस्त गर्न आवश्यक पहलको लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट विनम्र अनुरोध गर्दछौं’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
विपक्षी दलहरुले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रदेश सभामा प्रस्तुत भई निर्णयार्थ पेश गर्ने बेलामा असार ३१ गते सत्तारुढ दल र सरकारले नै प्रदेशसभा बहिस्कर गरेर अल्पमतमा रहेको तथ्य ढाकछोप गरिएको र सोही रात अधिवेशन अन्त्य गरी साउन १ मा अध्यादेशद्वारा वजेट प्रस्तुत गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् । विपक्षी दलहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले ध्यानाकर्षणपत्र संविधान र कानुनसम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताए । उनले विपक्षी दलहरुले उठाएका मागबारे मुख्यमन्त्री शंकर पोखरेलसंग पनि सल्लाह गर्ने बताएका छन् ।
यता लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् । शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् ।पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको थियो । शनिबार दिउँसो विपक्षी गठबन्धनले स्वागतसहित तथा सशरीर उपस्थित भएर मौखिक रुपमा आफ्नो बहुमत दाबी गर्ने कार्यक्रम तय भएपछि त्यसअघि प्रदेश प्रमुखलाई भेट्न मुख्यमन्त्री पुगेका हुन् ।
भेटमा सरकारले गरेका काम, प्रगति र अहिलेको अवस्थाबारे जानकारी गराएका गराए । त्यसक्रममा प्रदेश प्रमुख शेरचनले संविधान र कानुनलाई टेकेर प्रदेशलाई अगाडि बढाउन र नमुना बनाउन लाग्नुपर्ने बताएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया