कपिलवस्तु १८ साउन ।समुदायमा रहेका राष्ट्रिय बनको व्यवस्थापन र सरक्षण गर्दै समुदायको विकास गर्ने उद्धेश्यले स्थापना गरिएका सामुदायिक बन अहिले भ्रष्टाचारको अखडा बन्दै गएका छन् । बनको दिगो विकास, समुदायको आयश्रोतको मुख्य पाटोका साथै गरिबी निवारण र बन संरक्षणका लागि दर्ता गरिएका सामुदायिक बनहरु भ्रष्टाचारको मुख्य श्रोत बन्दै गर्दा बनमा बेथिति बढ्दोछ । सुसाशनका कुरा गर्ने बाणगंगा नगरपालिकामा जिल्लामै सबै भन्दा बढि सामुदायिक बन दर्ता छ। डिभिजन बन कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा भित्रका सामुदायिक बनको आ.ब. ०७६/७७ को आम्दानी मात्रै झण्डै ४६ करोड बढि छ । तर ति रकम खर्च गर्ने मापदण्ड र सामुदायिक बनलाई नियमन गर्ने स्थानीय कार्यविधि वा कुनै निति भने बाणगंगा नगरपालिका संग छैन । जसको प्रत्यक्ष फाइदा सामुदायिक बनका पदाधिकारीहरुले लिइरहेका छन् ।
एउटै व्यक्ति २५ बर्ष अध्यक्ष :
जिल्लाको सबै भन्दा बढि सामुदायिक बन भएको बाणगंगाको भलवाड क्षेत्रका सामुदायिक बनहरुमा समेत यो वेथिति निकै मौलाउदो छ । सो क्षेत्रको निकै पुरानो कोइलीचौर साना किसान सामुदायिक बनमा सामाजिक, आर्थिक र नितिगत भ्रष्टाचारले जरो गाड्दा समेत सरोकारवाला निकाय मौन छन् । सामुदायिक बन दर्ता भएदेखि हाल २५ बर्ष पुग्दा सम्म यसको अध्यक्ष एउटै व्यक्ति छन् । स्थानीय हरिराज घिमिरे हाल सम्म यसको अध्यक्ष रहदै आएका छन् । निःशुल्क रुपमा गरिने सामाजिक सेवाका रुपमा लिइने यस पदमा निरन्तर २५ बर्ष सम्म कब्जा गरि बस्नु आफैमा सामाजिक भ्रष्टाचार मानिने स्थानीय उपभोक्ताहरु बताउछन् । बन ऐनमा भने कति पटक अध्यक्ष बन्ने भन्ने स्पष्ट नभएकाले पनि यस्ता समस्या आएको स्थानीयको भनाईछ ।
ढुंगा विक्रीको २० लाख छैन :
सामुदायिक बनको अर्को ठूलो भ्रष्टाचार ढुंगा विक्री र त्यसको हरहिसाब रहेको छ । अध्यक्ष हरिराज घिमिरे र कोषाध्यक्ष कुन्तामणि भुसालको मिलेमतोमा सामुदायिक बन क्षेत्र र त्यहा भएका खोल्सा खोल्सीबाट आ.ब. ०७५/ ७६ देखि ०७७/७८ सम्म लगातार ढुंगा विक्री गरिएको स्थानीय उपभोक्ताहरु बताउछन् । प्रत्येक साधारणसभामा यस बारे हरहिसाब खोज्दा विवाद समेत हुदै आएको छ तर हिसाब किताब गायब छ । समितिकै एक सदस्यका अनुसार कोषाध्यक्ष भुसालले ३ बर्षको अवधिमा करिब २० लाख बढिको ढुंगा विक्री गरेको र त्यसको आम्दानी खर्च कतै नदेखाएको बताए । सामुदायिक बनले डिभिजन बन कार्यालय कपिलवस्तुमा पेश गरेको आ.ब.०७६/७७ को लेखापरिक्षण प्रतिवेदनमा समेत ढुंगा विक्री देखाएको छैन ।
बैज्ञानिक बनका नाममा लुट धन्दा :
कोइलीचौरका पदाधिकारीले बैज्ञानिक बन व्यवस्थापन खर्चमा समेत अप्रत्याशित खर्च देखाएका छन् । करिब २१८ हेक्टर बन क्षेत्र रहेको यसमा आ.ब.०७६/७७ मा १४ हेक्टर झाडी सफाई गर्दा ४ लाख ९ हजार खर्च देखाइएको छ । बन विभागको बैज्ञानिक बन व्यवस्थापन कार्यविधि अनुसार १ हेक्टर झाडी सफाई गर्न २० जना श्रमिक लाग्छ जसको ज्याला ५१५ रुपैया पर्न जान्छ । जस अनुसार १४ हेक्टरमा कुल १ लाख ४४ हजार २ सय मात्र लाग्छ । प्राविधिक कुरा समुदायले थाहा नपाउने भएपछि पदाधिकारीले झाडी सफाई मात्र होइन २ देखि २ लाख रुपैयामा सजिलै तयार हुने बैज्ञानिक बन कार्ययोजनामा समेत ५ लाख ८७ हजार रुपैया खर्च देखाएका छन् ।
तारबार र मर्मतको समेत लागत इस्टिमेटर कार्य सम्पन्न विवरण छैन तर ४ लाख ६ हजार रुपैया खर्च देखाइएको छ । बन व्यवस्थापन खर्च भनेर १ लाख २५ हजार रुपैया देखाइएको छ तर कस्तो व्यवस्थापन, के शिर्षकमा खर्च भए त्यो देखाइएको छैन ।
भवन निर्माण र काठ विक्रीमा घोटाला :
सामुदायिक बनको आफ्नै भवन थियो । तर खर्च देखाउन समितिले अर्को स्थानमा २० लाख २६ हजारमा नयाँ भवन निर्माण गर्यो तर समितिले निर्माण पूर्व भवनको लागत स्टिेमट तथा कार्यसम्पन्न विवरण अहिले सम्म स्वीकृत गराएको छैन । पहिलै एउटा भवन थियो, भवनको आवश्यक्ता नहुदा हुदै पनि पदाधिकारीले बढि खर्च देखाउन भवन बनाएको श्रोतको दाबी छ । समितिका कोषाध्यक्ष कुन्तामणि भुसालले फर्जि उपभोक्ता खडा गरि सस्तो दरमा काठ खरिद गरि बनगाई, बोर्डगाउँ तथा चार नम्बरका व्यापारीहरुलाई काठ विक्री गर्ने गरेको आरोप छ । बर्षेनी उपभोक्तालाई काठ वितरण हुदा समेत उपभोक्ता खपत अप्रत्याशित बढ्नुले यसलाई पुष्टि पार्ने स्थानीय उपभोक्ताहरुको दाबी छ ।
सामुदायिक बनको अनियमितता बारे कोषाध्यक्ष कुन्तामणि भुसालले निराधार आरोप मात्र भएको दाबी गरे । उनले केहि तत्वहरुले आफुलाई बदनाम गर्न यस्तो भ्रम फैलाएको बताउदै जुनसुकै बेला कार्यालमा आई सत्यतथ्य हेर्न सक्ने बताए । ”ढुंगा उपभोक्तालाई दिइएको हो, ढुवानी ट्याक्टरले लगेका हुन मैले रकम उठाएकै होइन, उपभोक्तालाई दिएको काठ कस्ले कहाँ लैजान्छ हामीलाई थाहा हुदैन तर हामीले त्यस्तो गरेका छैनौ ” उनले भने ।
केहि हिसाब तलमाथि भएपनि आफुहरुले गरेका सबै क्रियाकलाप नियमानुसार भएको उनको भनाई छ । डिभिजन बन कार्यालयका सूचना अधिकारी मदन मोहन शाण्डिल्यले सामुदायिक बनमा भएका अनियमितता बारे कुनै उजुरी वा गुनासो नआएको र त्यस बारे केहि समस्या भए छानबिन गरिने बताए । “हामीलाई अहिले सम्म कुनै जानकारी थिएन, बल्ल सुन्दैछौ हामी बुझ्छौ केहि देखिए छानबिन गर्छौ” उनले भने । बुद्ध दर्पण दैनिकवाट साभार
प्रतिक्रिया