कपिलवस्तु १९ साउन । कपिलवस्तुको महाराजगंज नगरपालिका १ प्राथमिक स्वास्थ्य केन्द्र जाने सडकमा निर्माण भएको नाली भत्किएको छ ।सहरी विकास तथा भवन कार्यालय भैरहवाले करिब डेढ करोडको लागतमा सडकमा टायल लगाउने र नाली निर्माणका लागि लुम्बिनी बिल्डर्स प्रा.लि.ले ठेक्का लिएको थियो । यही वैशाखबाट नाली निर्माणका काम सुरु भएको थियो । असारमा उक्त सडकमा माटो राखी लोडरले च्याप्ने क्रममा नाला भत्किएको थियो ।
स्थानीय अभिशेख मणी यादवले ठेकेदारले कमजोर संरचना बनाएको कारणले काम सम्पन्न नहुँदै नाली भत्किएको आरोप लगाउनु भएको छ । तर निर्माण व्यवसायी सुदर्शन पौडेलले सहरी विकास तथा भवन कार्यालयले गलत इस्टिमेटका कारण नाली भत्किएको बताउनु भयो । कार्यालयले साना गाडी चल्ने भनी नाली डिजाइन गरेकोमा माल बाहक ठुला सवारी साधन गुड्ने सडकको कारण नाली भत्किएको दाबी गर्नु भयो ।
कुल ५ सय मिटर नालीको एक तर्फीको भाग भत्किएको छ । यता सहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द गौतमले दलदल माथी रोलर लगाउँदा नाली भत्किएको दाबी गर्नु भयो । भत्किएको भाग मर्मत गरी काम गर्न म्याद थप भएको गौतमले बताउनु भयो । उक्त सडक नगरपालिकाले प्रस्तावित गरेको अस्पताल पुग्ने मार्ग भएकोले मापदण्ड अनुसारको निर्माण हुनु पर्ने महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले बताउनु भयो । प्रदेश सरकारले योजनामा काम भए पनी स्थानीय सरकार सँग कुनै पनी समन्वय नभएको नगरप्रमुख कलामको गुनासो रहेको थियो ।
प्रतिक्रिया