बुटवल २० साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै लालपूर्जा कुरेर बसेका जनता निरास भएका छन् । हातमा लालपूर्जा आउने आशामा बसेका रुपन्देहीका करिब एक लाख घर परिवारको सपना,सपनामै सिमित भएको छ ।भूमि सम्बन्धि समस्या समाधान आयोगले रुपन्देहीका ९ पालिकामा तथ्यांक संकलनको काम सम्पन्न गरेको थियो भने बाँकी रहेका ७ पालिकामा तथ्यांक संकलनका लागि ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।
तथ्याङ्क संकलन भएका ९ पालिकामा मात्रै कुल ७७ हजार ३०५ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी रहेको भूमि सम्बन्धि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष बलबहादुर आचार्यले जानकारी दिए । बाँकी रहेका ७ पालिकाहरुमा यो समस्या कम भएको उनले बताए । ती पालिकाहरुमा पनि तथ्याङ्क संकलनका लागि प्रक्रिया अघि बढाइएको थियो ।विभिन्न ३ चरणमा विभाजन गरी काम सुरु गरेको आयोगले पहिलो तथा जटिल समस्याका रुपमा रहेको तथ्याङ्क संकलनको काम ७० प्रतिशत बढी भइसकेको अवस्थामा सरकारले खारेज गर्दा जनताप्रति कुठाराघात भएको रुपन्देही अध्यक्ष आचार्यले बताए ।
आयोगले दोस्रो चरणमा जग्गा नापजाँच र अन्तिममा पूर्जा निर्माण तथा वितरण गर्ने गरी काम गरिरहेको अवस्थामा आयोग नै खारेज गर्दा जनतालाई फेरी पनि झुक्याउने र विश्वास घात भएको छ ।
प्रतिक्रिया