कपिलवस्तु २२ साउन । पहिलो र दोस्रो लहरको कोरोना नियन्त्रणमा सफल भएको कपिलवस्तु जिल्लाले तेस्रो लहरको जोखिम कम गर्न पूर्व तयारी गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बुद्धभुमी नगरपालिका २ गोरुसिंङ्गेमा एक कार्यक्रमको आयोजना गरी १० पालिका सँग योजना निर्माण गरेको छ । कार्यक्रममा पालिकाले हाल भएका कामको समिक्षा गर्नुका साथै आगामी दिनमा आवश्यक पर्ने सामाग्री र योजनाको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले संक्रमितको उचित तरिकाले कन्ट्रयाक ट्रेसिङ्ग गर्दा कोरोना नियन्त्रण गर्न सफल भएको बताउनु भयो । तेस्रो लहरमा बालबालिकाको संक्रमण जोखिम देखिएकोले अस्पतालमा बालबालिकालाई प्रयोग हुने खालमा भेन्टीलेटरव्यवस्था गर्नमा जोड दिनु पर्ने कपिलवस्तु अस्पतालका मे.सु. किशोर बन्जाडेले बताउनु भयो । छलफलमा पालिकामा रहेका सबै आइसोलसन सेन्टर संचालनमा ल्याउने , समुदायमा एन्टीजिन परीक्षण बिस्तार गर्ने, कन्ट्याक ट्रेसिङ्गलाई व्यवस्थित गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भयो ।
जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहर कन्ट्याक ट्रेसिङ्ग प्रभावकारी तरीकाले गर्दा समयमा रोकथाम गर्न सफल भएकोले आगामी दिनमा यसलाई निरन्तरता दिन जोड दिएको स्वास्थ्य कार्यालय कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो । कार्यक्रममा पालिकाले सञ्चालन गरेका आइसोलसन सेन्टर अक्सीजन सिलिण्डर, कन्सन्ट्रेटरको व्यवस्थापन भएको र कोभिड संक्रमित बोक्न अलग एम्वुलेन्सको व्यवस्थापन भएको बुद्धभुमी नगरपालिका स्वास्थ्यकर्मी गोर्कण अर्यालले बताउनु भयो ।
प्रतिक्रिया