अर्थ-वाणिज्य

माओवादीले गर्यो ३ निर्णय :मन्त्री टुङ्ग्याउन वाकी



काठमाडौं, २३ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले अझै पनि आफूहरुले पाउने मन्त्रालयबारे टुंगो भइनसकेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले आफूहरुको भागमा पर्ने मन्त्रालयबारे टुंगो नै नभएकाले मन्त्री हुने नाम नछानेको जानकारी गराएका छन् ।

‘केही दिनमै सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा हामीले गरेका छौं’, उनले भने, ‘आज मन्त्री र मन्त्रालयबारे छलफल नै भएन । अझैसम्म मन्त्रालयको विभाजन हुन सकेको छैन । मन्त्रालयको टुंगो नलागेकोले हामीले मन्त्रीको टुंगो लगाएका छैनौं । कति मन्त्रालय पाउने टुंगो नभएकाले मन्त्रीबारे आज कुरा भएन ।’

माओवादी केन्द्रले विभिन्न ३ विषयमा छलफल तथा निर्णय गरेको छ । बैठकमा सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको ‘साझा न्युनतम कार्यक्रम’ बारे अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी गराएका थिए । कार्यदलले आजै बालुवाटारमा आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको थियो ।

बैठकले तत्काल गठबन्धनको तर्फबाट उक्त साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद पनि दिएको छ । यस्तैगरी संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीको अपहरणबारे विरोध गरेको छ । प्रदेशसभा सदस्य वलीले आफूलाई दाङबाट अपहरण गरी मुख्यमन्त्रीको निवासमा बन्दी बनाएको बताएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको श्रेष्ठको भनाए छ । माओवादीले सो प्रकरण लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै घटनाको निन्दा गरेको छ । राजनीतिमा यो हदसम्मको क्रियाकलाप भएको प्रति माओवादीले चिन्ता समेत प्रकट गरेको छ ।

प्रकाशित : २३ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६