रुपन्देही २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै पोखरेलले नयाँ नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गर्नुभयो । पोखरेलले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो ।
आफुले गरेका कामलाई प्रदेश सरकारका संरचनाले निरन्तरता दिएमा प्रदेश अगाडी बढ्ने उहाको दावी थियो । पोखरेलले प्रदेशले स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण भइरहेको बताउँदै यसलाई सरकारको ठूलो सफलताका रुपमा लिनुपर्ने धारणा राख्नुभयो । यो संगै सबै मन्त्रालयका सचिवलाई बैठकमा वोलाएर आफू नेतृत्वको सरकारलाई जस्तै अव बन्ने सरकारलाई सघाएर प्रदेशको विकास र समृद्धीमा योगदान गर्न उहाले आवहान गर्नु भएको छ ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिनुभएको हो ।यसअघि सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार आह्वान पनि गर्नुभएको थियो ।
प्रतिक्रिया