रोल्पा ३१ साउन । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि उनको गाउँ रोल्पा नगरपालिका–६ जिबाङमा खुसियाली छाएको छ । परिवार, आफन्त र छिमेकीले आफ्नो गाउँबाट राजनीति थालेका उनी मुख्यमन्त्री बनेकामा खुसी मनाएका हुन । जिल्ला समन्वय समिति रोल्पाका सदस्य रहेका मानबहादुरले यो खबर थाहा पाएपछि अहिले सम्म गाउँभरि खुसियाली छाएको बताउनुभयो ।
दाङमा बस्ने जेठा दाइ भरतमणिले गरिब, सोझा र कमजोर वर्गका लागि भाइले मुख्यमन्त्रीका रूपमा काम गर्नुपर्ने बताए । उनले राजनीतिमा लागेकै बेला भारतको पटनामा भारतीय जेलमा परेको खबर पाउँदा निकै दुःखी भएको स्मरण गरे । केसी भारतमा तीन वर्ष जेल बसेका थिए । परिवारका सबै सदस्य राजनीतिमा लागेकाले निकै सास्ती खेपेको उनले बताए ।
मुख्यमन्त्री केसीका माइला दाइ गञ्जबहादुर २०४८ सालमा तत्कालीन कोटगाउँ गाविसको अध्यक्ष निर्वाचित भएका थिए । साइला दाइ रोबरसिंह पनि त्यसै साल वडाध्यक्षमा निर्वाचित भएका थिए । उनीहरूसहित जेठा भरतमणि र राइला मोहनविक्रम पनि माओवादीको सशस्त्र द्वन्द्वको अवधिमा पूर्णकालीन भूमिगत भएका थिए । मुख्यमन्त्री केसीका भाउजूहरू पनि त्यसबेला भूमिगत थिए । मुख्यमन्त्री पत्नी तारा घर्ती माओवादीको केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुन् ।
भूमिगतकालमै विवाह गरेका केसीका एक छोरी र एक छोरा छन् । मुख्यमन्त्री केसी बुबा टीकाराम र आमा रजमताका कान्छा छोरा हुन् । उनको जन्म २०२७ माघ १० गते भएको हो । मुख्यमन्त्री हुनुअघि रोल्पा १ (क) बाट निर्वाचित केसी निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
प्रतिक्रिया