भैरहवा ३२ साउन । निर्माणको अन्तिम चरणमा पुगेको भैरहवा–तौलिहवा सडक ठाँउ ठाँउमा भत्किएपछि अख्तियारले उत्खनन सामाग्री संकलन र गुणस्तर परीक्षणको साथमा छानविन सुरु गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयबाट आएको टोलीले सोमबार उक्त सडकको गुणस्तर छानवीन गर्नका लागि सेम्पल लिएको हो ।
इन्जिनियर सुदीप आचार्य नेतृत्वको चार सदस्यीय टोलीले सडकको गुणस्तर छानविन थालेको छ । पाँच वर्ष टिकाउ हुने भनिएको यो सडक कालोपत्रे भएको केही महिना नहुदै ठाउँ–ठाउँमा भत्किएका र दबिएको छ । गुण्स्तरमा प्रश्न उठेपछि अख्तियार टोलीले जाँचका लागि सडकमा प्रयोग गरिएको सामग्री (मेट्रियल)को नमूना संकलन गरी लगेको छ। नमूना संकलनमा खटिएका इन्जिनियर आचार्यले सडक खण्डको ठाउँ–ठाउँबाट नमूना लिएर गुणस्तर परिक्षण गरिने बताए। अख्तियारले ठेकेदार, परामर्शदाता, आयोजना कार्यालयलाई समेत स्थलगत रुपमै सँगै लिएर नमूना लिइरहेको हो ।
राष्ट्रिय प्राथमिकता मध्येको यो आयोजना २०२० जनवरी १२ मा सम्पन्न गर्ने लक्ष्यका साथ गावर कन्सट्रक्सन लिमिटेड गुणगाँव भारतले काम गरेको हो। ४१.१३ किलोमिटर लामो रहेको यो सडकको भैरहवा बुद्ध चोक देखि एयरपोर्ट सम्म ३ .६८ किलोमिटर ६ लेन रहेको छ। एयरपोर्ट देखि लुम्बिनीको पर्सा चौराहा सम्म १४.४२ किलोमिटर ४ लेन र बाँकी पर्साचोक देखि तौलिहवा सम्मको २३ .०३ किलोमिटर २ लेनको सडक निर्माण भएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको यस आयोजनाको सूरुको लागत १ अर्ब ९३ करोड ६ लाख ३६ हजार २ सय २७ रुपैया ५५ पैसा भए पनि २ पटकको कामको अन्तर पछि २ अर्ब १६ करोड ८५ लाख को लागतमा निर्माण भएकोे हो ।
प्रतिक्रिया