काठमाडौं, ३ भदौं । एमाले विभाजनको निर्णायक मोडमा वरिष्ठ नेता माधव नेपाललाई दोस्रो पुस्ताका नजिकका नेताले साथ नदिइरहेका बेला एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने भएका छन् ।
पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने घोषणा गरेका हुन् । तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले आफू नेपालतिर लाग्ने कार्यकर्तालाई बताएका हुन् ।
‘अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु’, उनले भने, ‘योसँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु ।’ गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि बताएका छन् ।
‘अब ओलीको पक्षमा लागेर, उनीसँग हिंडेर केही गर्न सकिँदैन, कहीं पुग्न सकिंदैन’, उनले थपे, ‘अब हामीसँग विद्रोह नै विकल्प हो । नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौं । त्यसपछि पार्टी एकतामा जोड दिन्छौं ।’ गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताएका छन् ।
प्रतिक्रिया