कपिलवस्तु ४ भदौ । सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग निरुत्साहीत गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको छ । हत्या देखी, चोरी तस्करी, लागु औषध कारोबारमा अत्याधिक प्रयोग हुन लागे पछि प्रहरीले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो ।
अभिलेखीकरण नहुँदा अपराधमा प्रयोग भएका भारतीय सवारीसाधन प्रयोगकर्ता पहिचान गर्न असहज भए पछि प्रहरीले नयाँ जुक्ती निकालेको हो । भारतीय सिमा आसपास र राजमार्ग देखी दक्षिण तर्फका बस्तीमा भन्सार गरेका र नगरेका भारतीय मोटरसाइकल, जिप तथा कार नेपालीले प्रयोग गर्दै आएका छन् । विवाहमा दाइजो स्वरुप र भारतमा मुल्य सस्तो पर्ने हुँदा भारतीय आफन्तको नामबाट खरिद गरेर प्रयोग गर्ने गरेका छन् । चोरी भएका नेपाली मोटरसाइकलमा भारतीय नम्बर राखेर अपराधिक कृयाकलापमा संलग्न भएको समेत भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार कागजात भएका मोटरसाइकल नियन्त्रण राखेर अन्य मोटरसाइकलको कागजात प्रमाणीकरण गरी अभिलेखीकरण गरीएको बताउनु हुन्छ । नियम संगत रहेका सवारी साधनको विवरण राखे पछि प्रयोगकर्तालाई सचेत गराई हस्तान्तरण गरिएको छ । अभिलेखीकरण गर्दा भारतीय सवारी धनीको विवरण, नेपालमा प्रयोग गर्नेको विवरण, सम्पर्क नम्बर, वतन सहितको तथ्याङ्क राखिएको छ । अभिलेखीकरण भएका भारतीय सवारी साधन अपराधमा प्रयोग भएमा नेपाली प्रयोग कर्ता पहिचान भइ अनुसन्धानमा सहज हुने भण्डारीले बताउनु भयो ।
साउनबाट सुरु भएको अभियानमा हाल सम्म ६२ वटा सवारी साधन नियन्त्रणमा लिईएको छ । ती मध्ये ४९ सवारी साधनको अभिलेखिकरण गरीएको छ । १३ मोटरसाइकल कागजात नभएका कारणले अनुसन्धानमा राखिएको बताइएको छ । कपिलवस्तु प्रहरीले साउन महिनामा भारतीय सवारी साधन प्रयोग गरी अवैध हतियार सहित १ जना र लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अधिकांश गोली प्रहार गरी हत्याको घटनामा भारतीय मोटरसाइकल प्रयोग हुने गरेको छ ।








प्रतिक्रिया