कपिलवस्तु ५ भदौ ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको नेतृत्व लंका बहादुर हमालले गर्नुहुने भएको छ । शनिबार जिल्लाको वाणगंगा नगरपालिकामा बसेको बृहत अगुवा कार्यकर्ता भेलाले हमालको संयोजकत्वमा १ सय ५१ सदस्यिय जिल्ला अधिवेशन आयोजक सम्मेलन घोषणा गरेको हो ।शिवराज नगरपालिका चन्द्रौटा निवासी हमाल तत्कालिन एमाले पार्टीको जिल्ला नेता हुनुहुन्थ्यो । जिल्लाको पश्चिमी क्षेत्रमा रहेर कम्युनिष्ट आन्दोलनमा काम गर्दै आउनुभएका हमालले त्यस क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ संस्थाको पनि नेतृत्व गर्दै आउनुभएको छ ।
जिल्लाभरबाट आएका माधव नेपाल पक्षिय अगुवा नेता तथा कार्यकर्ताले हमाललाई सर्वसम्मत रुपमा जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् । सर्वोच्च अदालतले नेकपा विघटन गरेर पूर्ववत एमालेमा फर्कन आदेश दिएपनि पार्टी भित्रको अन्तर संघर्षको कारण एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन हुन पुगेको हो ।
माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीले बैधानिकता पाउने चरणमा रहे पनि कपिलवस्तुमा त्यस अगावै नयाँ नेतृत्व बनेको हो । दक्षिणपन्थी भासमा जान थालेको कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्दै देशलाई आर्थिक समृद्धिको यात्रामा अगाडी बढाउनका लागि आफुहरु एकीकृत समाजावादी पार्टीमा आवद्ध भएको नव गठित जिल्ला कमिटीका अध्यक्ष हमालले बताउनुभयो ।
पार्टी भित्र गम्भीर मतभेद देखा परेसंगै कम्युनिष्ट आन्दोलन नै समाप्त हुने दिशामा पुगेको बेला आफुहरुले नयाँ पार्टीको रुपमा एकीकृत समाजवादी गठन गर्नुपरेको उहाँले बताउनुभयो । जिल्लामा आफुहरुको स्थान अग्रपंक्तिमा रहेको भन्दै कार्यकर्ताको बीचमा गएर पार्टीलाई थप मजवुत बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेलाले जिल्लामा रहेका तीन वटै प्रतिनिधि सभाको क्षेत्रिय इन्चार्ज पनि तोकेको छ । जस अन्तरगत प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेत्रलाल खनाल, प्रतिनिधिसभा क्षेत्र नं. २ मा दिनेश श्रेष्ठ र प्रतिनिधिसभा क्षेत्र नं. ३ मा ओमप्रकाश कुर्मीलाई क्षेत्रिय इन्चार्ज तोकेको नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।पार्टीले औपचारिक रुपमा बैधानिकता पाएपछि जिल्ला अधिवेशन मार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ ।
प्रतिक्रिया