कपिलवस्तु ३१ भदौ । कपिलवस्तुका बिभिन्न पालिकाले किशोरीले महिनावारीका कारण हरेक महिना ३/४ दिन विद्यालय छाड्नु पर्ने समस्या समाधान गर्न हिस्सेदारी लिएका छन् । फलस्वरुप वार्षिक नीति कार्यक्रम र वजेटका साथ विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने कार्यक्रम लागु गरेर निरन्तरता दिदै आएका छन् । त्यसरी यस प्रकारको कार्यक्रम लागु गर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका पनि एक हो । यसले विगत २ वर्षदेखि विद्यालयका किशोरीका लागि महिनावारी हुदा चाहिने जति सेनेटरी प्याड निशुल्क रुपमा बिद्यालयलाई उपलब्ध गराउदै आएको छ ।
बाणगंगाका शिक्षा शाखा प्रमुख वावुराम भट्राईका अनुसार नगरपालिकामा निमावि र मावि तहका छात्रालाई निःशुल्क सेनेटरी प्याड दिने गरिन्छ । नगरभित्र निमावि र मावि गरि ३० वटा सामुदायिक विद्यालय रहेका छन । विद्यालयमा छात्राको संख्याका आधारमा महिनावारी हुने छात्रालाई प्याड दिने गरिन्छ । प्याड बितरणका लागि सामुदायिक विद्यालयमा महिला शिक्षिकाको अगुवाईमा समिति बनाइन्छ , सोहि अनुरुप महिला शिक्षिकाले छात्राहरुलाई प्याड दिने गरेको शाखा प्रमुख भट्राईको भनाई छ ।
सेनेटरी प्याड टेन्डर प्रकृयाबाट खरिद गरेर छात्राको संख्याका आधारमा एक वर्षलाई पुग्नेगरी बाडिन्छ ।अघिल्लो आर्थिक वर्षमा सेनेटरी प्याड खरिदका लागि केन्द्रीय सर्शत अनुदानको बजेट २० लाख आएकोमा ६ लाखको मात्र प्याड खरिद गरिएको उहाँले जनाउनु भयो । उहाँले अगाडि भन्नु भयो , “प्याडहरु स्टक छ , दुई वर्ष कोरोनाका कारण विद्यालय बन्द भए , अब विद्यालय खुलेका छन । छात्राको संख्याको आधारमा प्याड खरिद गरि विद्यालयमा बितरण गरिने छ । ” यस कार्यक्रमका लागि शसर्तको संघिय बजेट हुनाले निरन्तरताका लागि पनि सहज हुने छ ।
यस्तै वुद्धभुमी नगरपालिकामा पनि सरकारले छात्रालाई गरेको निःशुल्क सेनेटरी प्याडको कार्यान्वयन भएको छ । उक्त नगरपालिकामा निमावि र मावि गरि २३ वटा सामुदायिक विद्यालय रहेका छन । २३ वटा विद्यालयका छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड बितरण गरिदै आएको वुद्धभुमिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्राईले बताउनु भयो । विद्यालयमा महिनावारी हुने छात्राहरुको सख्या पत्ता लगाई केन्द्रमा पठाइन्छ , सोहि अनुरुप बजेट आउने गर्छ । भटराइका अनुसार आजकाल छात्राहरु महिनावारी हुदा विद्यालय नआउने गरेको पाइदैन । छाात्राहरुले सहज रुपले प्याड पाए वा पाएन भनी बेला बेलामा अनुगमन पनि गर्ने गरिन्छ शाखा प्रमुख भट्राईले बताउनु भयो ।
जिल्लाको विजयनगर गाउँपालिकामा पनि सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड कार्यक्रम लागु छ । पालिकामा निमावि र मावि गरि १३ वटा विद्यालय छन । जसमा महिनावारी हुने छात्रालाई प्याड बितरण गरिन्छ । पालिकाका शिक्षा फाँट प्रमुख हरिहर बेल्बासेका अनुसार गत अघिल्लो आर्थिक वर्षमा प्याड खरिदका लागि शसर्तको अनुदानको रु २० लाख ३० हजार बजेट मार्फत रु ५ लाखको मात्र प्याड खरिद गरिएको थियो ।
विद्यालयकी एक छात्रा निशा हरिजनले यो कार्यक्रमले किशोरीलाई निकै फाइदा दिलाएको वताउनु भयो , महिनावारी कतिखेर हुन्छ भन्ने थाहा हुदैन , उहाले भन्नु भयो । विद्यालयमै गएको बेला म महिनावारी भएँ अफिसमा गएर मेडमलाई आफ्नो कुरा राखे र घर जान्छु मेडम भने उहाले भन्नु भयो प्याड यहि निशुल्क पाइन्छ किन घर जान्छौं भन्नु भयो । यो कुरा मैले पहिलो पटक थाहा पाएँ बहुत खुशी लाग्यो । प्याड लिए अनि आफुलाई सहज भएको अनुभुती गरे । मैले त आफ्नो कुरा राखे तर कतिपय साथीहरुले महिनावारीको कुरा बताउन अप्ठ्यारो मान्छन ।
यसलाई अझै सहज बनाउका लागि विद्यालयका शिक्षिकाहरुले विशेष ध्यान दिनु पर्छ , ताकी सबै छात्राहरुले महिनावारी हुदा सजिलो गरि प्याड लिन सकुन , आफ्नो कुरा भन्न हिचकिचावट नहोस । हुनत प्रजनन प्रणालीसंग जोडिएको महिनावारीलाई लाजको विषय ठान्ने हाम्रो समाज छ । समाजका अगुवाले बर्षाैदेखी यस्तै कुरा सिकाएका छन् । त्यतिमात्र होइन चुनावी घोषणा पत्रमा अरु धेरै विषय लेखेपनि महिलाको प्रजनन स्वास्थ्यको विषयमा खासै चर्चा नगर्ने यहाँका राजनैतिक दलहरुको यथार्थता हो ।
यति हुदा हुदै पनि किशोरीहरुको महिनावारीमा पालिकाले हिस्सेदारी गर्नृु पर्छ र उनीहरुलाई महिनामा ३/४ दिन अनुपस्थित हुने क्रमलाई रोक्नु पर्छ भन्ने वहश पालिकामा महिला उपप्रमुख निर्वाचित भएर आएपछि संभव भएको हो । यो विषयलाई नीति निर्माण तहमा घुसाई कार्यान्वयमा लैजान आफूले शुरुमा निकै मेहनत गरेको विजयनगर गाउँपालिकाका उपप्रमुख लक्ष्मी चौधरीको भनाईछ ।
पछिल्ला बर्षमा संघीय सरकारले कार्यक्रम ल्याएपनि शुरुमा यस्तो कुनै कार्यक्रम थिएन मैले नै पहिलो पटक यो विषय कार्यपालिकामा पुराएको थिए उहाँ भन्नु हुन्छ । हामीले धेरै सेवा सुविधा दिने काम गरेपनि किशोरीहरुकालागी दिइएको यस प्रकारको सुविधाले उनीहरुको शैक्षिक भविष्य उज्जवल हुन सहयोग पुग्ने विश्वास लिइएको उपमेयर चौधरीको भनाइछ । अहिलेका शिक्षीत किशोरी भोलीका आदर्श आमा बन्न सक्छन् त्यसैले उनीहरुकालागि पालिकाले सेनेटरी प्याड निशुल्क उपलब्ध गराउने काममा हिस्सेदारी लिएको हो उहाँले यसो गर्दा गर्व महशुस भएको वताउनु भयो ।
खासगरी महिला उपप्रमुख बन्नु र कार्यपालिका महिला सदस्य र दलित महिला सदस्य अनिवार्य निर्वाचित हुने प्रावधानले महिला त्यसमा पनि पढ्ने उमेर किशोरीलाई परेको समस्या प्रति पालिकाले जिम्मेवारी लिएर समाधान गर्ने निर्णय गर्न आवश्यक दवाव श्रृजना हुन पुगेको कपिलवस्तुवाट राष्ट्रिय सभा सदस्य विमला घिमिरे वताउनु हुन्छ । उहाँ भन्नु हुन्छ , सबै भन्दा नजिकको सरकारले किशोरीको महिनावारीका कारण सृजित अध्ययन अवरोधलाई घटाउन सेनेटरी प्याड निशुल्क दिने र छात्राकालागि छुटटै ब्यवस्थित शौचालय बनाउन सघाउने काम सह्रानिय छ ।
बाणगंगाका उपमेयर चक्रपाणी अर्यालको तर्क भने अलि फरक छ उहाँ भन्नु हुन्छ महिनावारी महिलाको सामाजिक अर्थ राजनीतिको एक महत्वपूर्ण विषय हो । समाजमा ढुक्कले आफूले गर्नुपर्ने काम गर्न महिनावारीले समस्याको रुपमा छेकवार गर्न नपाओस भनेर यस्तो कार्यक्रम ल्याइएको हो । कतिपय छात्रा खर्च गरेर सेनेटरी प्याड किन्न नसक्दा पढ्न आउनै नसक्ने स्थिती नआओस भनेर पालिकाले हरेक वर्षको निती कार्यक्रम र बजेटमा सेनेटरी प्याड खरिदकालागि आफ्नै तर्फवाट आवश्यक वजेट राख्ने गरेको उपमेयर अर्यालको भनाईछ ।
पढ्ने उमेरका किशोरीको महिनावारी प्रति स्थानीय पालिकाहरु जिम्मेवारी बोध गरेको तथ्य कपिलवस्तुका पालिकाहरुको नीति वजेट र कार्यक्रममा निशुल्क सेनेटरी प्याड वितरण गर्ने ब्यवस्था मिलाइनुले स्पष्ट हुन्छ । संघिय सरकारको सहकार्यमा होस वा स्वयम पालिकाको पहलमा होस गरेको काम निकै महत्वको छ ।
हरेक विद्यालयमा रहेका विद्यालय ब्यवस्थापन समितिमा पनि राजनैतिक आस्था र पहँुचका भरमा निर्वाचित भएर पदाधिकारी आएका हुन्छन् । ती पदाधिकारीले बिद्यालय ब्यवस्थापन भनेको छात्राहरु सहितको ब्यवस्थापन हो भनेर बुझेको भने कमै पाइन्छ । उनीहरुले सही अर्थमा बुझ्नेहो भने छात्रालाई महिनावारीका समयमा सरसफाई र सेनेटरी प्याड बदल्न कस्तो प्रकारको शौचालय चाहिएला ? केहि समय आराम गर्नु पर्ने भएमा कहाँ बसेर गर्नेहोला ? वा कुनै चिकित्सकीय सेवा वा औषधी लिनु परेमा कहाँ कसरी पाउने होला भन्ने जस्ता विषयमा चासो र सरोकार राख्ने र संभव भए सम्मका ब्यवस्था मिलाउन कोशिस गर्थे ।
तर ब्यवस्थापन समितीले केवल शिक्षकहरुको उपस्थिती भए नभएको हेर्ने ,कुनै भौतिक काम गर्नु परेमा चासो राख्ने वाहेह अरु गर्न सकेका छैनन् । विद्यायल ब्यवस्थापन समिती महासंघ कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त आचार्य भन्नु हुन्छ- वि.स.२०६३/ ६४ मा महासंघ गठन भएको हो । त्यतिबेला विभिन्न सचेतनामुलक कार्यक्रम गर्यौ , जिवन उपयोगी शिक्षा , स्वास्थ्य सम्बन्धि , किशोरी शिक्षा लगायतका गतिविधि गरयौ तर हाम्रो ध्यान किशोरीको महिनावारीमा भने पुगेनछ उहाले स्वीकार्नु भयो । हामीसंग श्रोत साधन पनि अभाव थियो सरकारले अहिले जसरी बजेट पनि पठाउने थिएन । त्यसैले हामीले धेरै केहि गर्न सकेनौं उहाँले भन्नु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेका अनुसार कपिलवस्तुमा रहेका ६ नगरपालिका र ४ गाउँपालिकामा १ सयको हाराहारीमा मावि र करिब १ सय ५०को संख्यामा रहेका निमाविका छात्राहरुले निःशुल्क सेनेटरी प्याड पाएका छन । उहाँले अगाडि भन्नु भयो , सबै पालिकाहरुमा यो कार्यक्रम कार्यान्वयनमा छ । नेपाल सरकारले सेनेटरी प्याड वितरण तथा ब्यवस्थापन कार्यविधी २०७६ लागु गरेर संघिय ,प्रादेशीक तथा पालिका स्तरीय समिति बनाएर काम गर्ने ब्यवस्था गरेको छ । पालिकाहरुको मागको आधारमा अर्थ मन्त्रालयले बजेट ब्यवस्था गरेपनि कार्यविधीले वितरण र ब्यवस्थापनको सम्पूर्ण दायित्व स्थानीय पालिकालाई सुम्पीएको छ ।
पालिकामा प्रमुख वा उपप्रमुख मध्ये एकको संयोजकत्वमा सेनेटरी प्याड वितरण तथा ब्यवस्थापन समिती गठन गर्ने र विद्यालयमा प्रधानाध्यापक कै संयोजकत्वको सहजीकरण समिती बनाई किशोरीलाई सेनेटरी प्याड निशुल्क उपलब्ध गराउन कार्यविधीले मार्गदर्शन गरेको छ । त्यसैले निर्देशीका अनुसार र ब्यवहारत किशोरीको महिनावारीमा पालिकाको जिम्मेदारी निकै गहन हुन पुगेकोछ ।
प्रतिक्रिया