लुम्विनी ३ असोज। लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल बहादुर के.सी.‘सोनाम’ ले लुम्बिनीसँग तिलौराकोट, देवदह र रामग्रामको एकीकृत विकास गरिने वताएका छन। मुख्यमन्त्री केसीले समग्र विकासको नेतृत्व लुम्बिनी प्रदेश सरकारले गर्ने बताएका छन् । मुख्यमन्त्री के.सी.ले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउने र लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर समग्र विकास कार्यलाई अगाडि बढाउने बताउँदै बुद्धदर्शन तथा यसको विकास नेपालमा हुनु नै नेपाल र नेपालीका लागि गौरव गर्ने विषय भएको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री के.सी.ले लुम्बिनीमा आयोजित एक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महामानव गौतम बुद्ध एक महान दार्शनिक हुनुको साथै बुद्धको शिक्षा जीवनयोगी रहेको बताएका हुन् । मुख्य मन्त्री के.सी.ले प्रदेश सरकारले लुम्बिनीको समग्र विकासको लागि ध्यान दिने बताए । कार्यक्रममा विशिष्ट अतिथि पर्यटन, सहरी बिकास तथा ग्रामीण मन्त्री डिल्ली बहादुर चौधरीले गौतम बुद्धको अहिंसावादी सिद्धान्त सबैले पालना गर्नुपर्ने बताउँदै लुम्बिनीको समग्र विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले लुम्बिनी क्षेत्रको विकासमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम, देवदहलगायतको वृहत्तर गुरुयोजनामा थप क्षेत्रलाई समेत विकास गर्ने योजना साकार पार्न आफूहरु संघ र प्रदेशको योजना अनुरुप कार्य गर्न सधैं तयार रहेको बताए । नेपाली कांग्रेसका सचेतक तथा लुम्बिनी प्रदेश सांसद अवरुद्धिन खाँनले लुम्बिनीको पर्यटन विकासको लागि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको र गुरु योजना चाडै पूरा गर्नु पर्नेमा जोड दिए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले कोरोना भाइरस कोभिड–१९ का कारण लुम्बिनीको गुरुयोजना पूरा गर्नमा केही ढिलाई भएको बताउँदै गुरुयोजना सम्पन्न गर्न आफूहरु लागि परेको बताए ।कोषका कोषाध्यक्ष सुरेन्द्र मुनी शाक्यले कार्यक्रममा स्वागत मन्तव्य राख्दै लुम्बिनीको समग्र विकासका लागि आफूहरुले दिनरात काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा बृहत लुम्बिनी गुरुयोजना बारे जानकारी इन्जिनियर सरोज भट्टराईले दिएका थिए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकका मेयर मनमोहन चौधरी लगायत विशिष्ट व्यक्तित्वहरुको उलेख्य सहभागिता रहेको थियो । मुख्यमन्त्री के.सी.ले थाइ मन्दिर मायादेवी मन्दिर पुगेर दर्शन पूजा, वृक्षरोपण गर्नुका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिएको लुम्बिनी विकाष कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जानकारी दिए।
३ आश्विन २०७८, आइतबार
प्रतिक्रिया