बुटवल ७ असोज ।नेपाली कांग्रेसको गाउँनगर अधिवेशन यही असोज ९ गते हुँदैछ। त्यसका लागि उमेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउनमा लागि परेका छन्। लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका बुटवल, नेपालगञ्ज, तुलसीपुर र घोराहीमा सभापतिका आकांक्षीहरु आ–आफ्नो ढङ्गबाट अहिले लबिङ गर्ने तथा भेटघाटलाई तीव्रता दिएका छन्। काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गरी मुख्यतया दुई समूहबाट नेताहरु खुलेर लागेका छन्। यी उपमहानगरपालिकामा आफ्ना पक्षका उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरुले पनि सक्दो प्रयास गरिरहेको काँग्रेसका स्थानीय नेताहरु बताउँछन् बटवलमा पौडेलका आकांक्षी धेरै लुम्बिनी प्रदेशको केन्द्र बुटवलको विशेष चर्चा छ। हाल प्रदेश राजधानी समेत रहेकाले बुटवलमा कांग्रेसको नेतृत्व लिन नेताहरु कस्सिएका छन्।सभापति शेरबहादुर देउवा पक्षका गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रहेपनि बुटवलमा देउवा समूहका भन्दा पौडेल समूहका सभापतिका आकांक्षी धेरै छन्। उपमहानगर सभापतिमा देउवा समूहका एक जनाको नाम चर्चामा रहँदा पौडेल समूहका आधा दर्जनजति आकांक्षी देखिएका छन् हालका सभापति खेलराज पाण्डेयले क्षेत्र या जिल्लातिर आफ्नो सुनिश्चितता नभए फेरि नगरसभापति दोहोराउने तयारीमा छन् । पौडेल समूहका पाण्डेयले अहिले आफ्नो समूह अन्य आकांक्षीलाई स्वतन्त्र ढङ्गले तयारी गर्न छुट दिएका छन्।सोही अनुसार पौडेल समूहबाट नगरसभापतिमा हालका उपसभापति विमलराज भट्टराई, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति प्रकाश राना, नगर सचिव ज्योति भण्डारी, हालका क्षेत्रीय सचिव जोगबहादुर केसी लगायतले सभापति पदका लागि दाबी गरेका छन्। देउवा पक्षबाट महिला नेतृ रिता केसी आंकाक्षी देखिएकी छन्। १३ औं महाधिवेशनमा सभापतिमा पराजय भोगेका युवा नेता प्रजापाल गिरी चुनावी मैदानमा आफ्नै ढङ्गले तयारी गर्दैछन्। भट्टराई उद्योग वाणिज्य संघमा रहेकाले उनलाई कांग्रेसको नगर सभापतिमा दाबी नगर्न कांग्रेसको एक पंक्तिले दबाब दिइरहेको छ। बुटवलमा पौडेल समूह पनि बलियो छ। त्यसकारण सिटौला र देउवा समूहको मिलेमतोमा गिरीलाई जिताउन भूमिका निर्वाह गर्ने अड्कलबाजी भइरहेको छ। बुटवलमा नेपाली काँग्रेसका ५ हजार ५७० क्रियाशील सदस्य छन् भने क्षेत्रीय प्रतिनिधि ७५० जना छन् ।नेपालगञ्जमा यस्तो छ सरगर्मी बाँकेको नेपालगञ्जमा हालका नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र तरुण दल जिल्ला सचिव विनोद रिजाल सभापतिका दाबेदार छन्।उपप्रमुख थापा कोइराला परिवारसँग निकट मानिन्छिन् भने रिजाल र विष्ट देउवा समूहका हुन् । चर्चामा तीन जनाको नाम आए पनि अन्ततः विष्ट र थापाको प्रतिस्पर्धा हुने आँकलन कार्यकर्ताहरुले गरेका छन् ।विष्ट दुई कार्यकाल नेतृत्वमा रहेकाले अब आफूले सभापति पाउनुपर्ने थापा बताउँछिन्। तर, विष्टले नगरसभापति भन्दा माथि चाहेजस्तो पद पाउने नदेखिए फेरि दोहोरिने इच्छा व्यक्त गर्दै पार्टीभित्र सोही अनुसार तयारी गरेका छन्। नेपालगञ्जमा १३ औं महाधिवेशनमा १३ सय क्रियाशील सदस्य रहे पनि अहिले ३ हजार हाराहारीमा सदस्य हुनसक्ने सभापति विष्टले बताए। यद्यपि अन्तिम सू्ची आइसकेको छैन ।घोराहीमा दुई जनाको दाङ जिल्लामा दुईवटा उपमहानगर छन्। प्रदेशका अन्य जिल्लाको तुलनामा दाङमा नेपाली काँग्रेसको पकड राम्रो मानिन्छ। घोराही र लमहीमा नगर अधिवेशनका लागि कार्यकर्ताहरु तयारीमा जुटेका छन्।घोराही उपमहानगरपालिकामा काँग्रेस सभापतिका लागि तीन जनाको नाम चर्चामा छ। पौडेल पक्षबाट घोराही–१५ का वडाध्यक्ष रमेश पाण्डे सभापतिका आकांक्षी देखिएका छन्। नेविसंघको राजनीतिबाट आएका दीपक पाण्डे र तिलक रावत पनि सभापतिका दाबेदार हुन्। दीपक पाण्डे क्षेत्रतिर गएर अन्त्यमा रावत र रमेश पाण्डेबीच नगर सभापतिका लागि भिडन्त हुने स्थानीय कार्यकर्ता बताउँछन्। दीपक र रावत भने देउवा पक्षका हुन्। तुलसीपुरमा तीन आकांक्षी दाङको तुलसीपुर नगर सभापतिमा तीन जनाको नाम चर्चामा छ। भावी नेतृत्वका लागि सुरेश हमाल, अनिल कार्की र शोभाकर सापकोटा आकांक्षी देखिएका छन्। सभापतिका आकांक्षी हमाल र सापकोटालाई पौडेल पक्षका भनेर चिनिन्छ भने अनिल कार्की भने देउवा खेमामा रहेका छन्।
८ आश्विन २०७८, शुक्रबार








प्रतिक्रिया