काठमाडौं ९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण गर्न आग्रह गरेको छ ।सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालाई पत्र लेख्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न आग्रह गरेको छ ।
कोरोनाभाइरस (कोभिड-१९) महामारीको वर्तमान सन्दर्भमा जोखिम अवस्था कायमै रहेको र निकट भविष्यमा आउँदै गरेका चाडवाडहरुलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरुमै एन्टिजेन परीक्षण गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।यस्तै मन्त्रालयले सीमा नाकाका हेल्थ डेस्कमा छुटेकाहरुको समुदायमा तथा देश भित्रकै उच्च जोखिम क्षेत्रहरुबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पनि पत्रमा भनेको छ ।
महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले पठाएको पत्रमा एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका केसहरुको उचित व्यवस्थापन गर्न पनि उल्लेख गरिएको छ ।









प्रतिक्रिया