सप्तरी १२ असोज । यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा ६ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो ।
यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।
महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो । सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।
योसमेत आव २०७८÷०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।
प्रतिक्रिया