कपिलवस्तु, १२ असोज । अनाथ र असहायको लागि भन्दै गैरकानुनी रुपमा पैसा उठाउने दुई जना महिला कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट पक्राऊ परेका छन् । संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाण्डौँको नाममा वडा नम्बर १ वैरियामा सहयोग संकलन गरिरहेको अवस्थामा चितवन घर भएका २ युवतीलाई इलाका प्रहरी कार्यालय पिपराले रंगे हात पक्राऊ गरेको हो । यसरी पक्राउ पर्नेमा पश्चिम नवलपरासी स्थायी घर भएकी शान्ति पौडेल र उनीसंगै रहेकी की १७ बर्षकी बालिका रहेका छन् ।
वैरियाका एक जना ब्यापारीसंग पैसा संकलन गरेपछि उनीहरु अरु सहयोग उठाउन बजार र गाउँगाउँ छिरेका थिए । शंका लागेर ती ब्यापारीले रसिदमा उल्लेख गरिएको संस्थामा फोन गरेर बुझ्दा ती युवतीले त्यहाँका कर्मचारी नभएको पाइयो ।
त्यसपछि उनले यस्तो भयो भन्दै संचारकर्मीलाई जानकारी दिए । संचारकर्मीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएपछि ती महिलाई वैरियामा खाजा खाँदै गर्दा पक्राऊ गर्न सफल भएको पिपरा प्रहरीका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
पक्राउपछि भएको अनुसन्धानका लागि प्रहरिले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसिदमा भएको नाममा फोन गरी बुझ्दा नीजहरु त्यहाँको कर्मचारी नभएको र उनीहरुले गलत धन्दा गरेको प्रमाणित भएपछि समातेको एक दिनपछि ७ दिनको म्याद थप गरेर ती महिलाविरुद्ध मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
विषय साधारणजस्तो देखिए पनि धार्मिक संस्थाको नाममा यस्तो धन्दा धेरै ठाउँ भइरहेको भन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आफूले कडा कदम चालेको इन्स्पेक्टर गुरुङले बताउनु भयो । यस धन्दामा अरु पनि संलग्न हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । पक्राउ परेकाहरुले भने आफूहरुलाई अरुले फसाएको बताएका छन् । रोजगारी र जागिर नभएपछि कमाउने उदेश्यले यस्तो संस्थामा लागेको उनीहरुले बताए ।
उनीहरुले के कति रकम संकलन गरेका थिए त्यो भने खुलेको छैन । कार नै लिएर गाउँगाउँमा ५, १०, २०, ५०, १००, १०००, २००० रुपैयाँ गरी उनीहरुले पैसा उठाउने गरेका थिए । परोपकारी र धार्मिक संस्थाको नाममा भएको यस्तो धन्दा अवैध भएको भन्दै कोही कसैबाट यस्तो हुन नहुनेमा प्रहरीले सचेत गराएको छ । दान र सहयोग गर्दा पनि बुझेर मात्र गर्न प्रहरीले सबैमा आग्रह गरेको छ । यस्तै बाणगंगाका हरु ब्यापारी तथा सर्वसाधारणले पनि आफूहरुले सहयोग दिएको बताएका छन् ।








प्रतिक्रिया