प्रदेश

शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्ने, आजै मन्त्रालयको टुङ्गो लगाउने तयारी ।



काठमाण्डौ,१४ असोज । प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ  । बैठकमा कांग्रेस,  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ । 

सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लाग्नु भएको हो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । 

यस्तै प्रधानमन्त्री देउवाले आज मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी थाल्नु भएको छ । मन्त्रालय भागबण्डा टुङ्ग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी छ ।  यसका लागि उहाँले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग मन्त्रीको नाम माग्नु भएको छ ।  प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको बैठक बोलाएर मन्त्रालयको  टुङ्गो लगाउने तयारी गर्नु भएको हो । 

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा हिजो पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ घण्टा छलफल भएको थियो । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी हुनु भएको थिएन भने जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर रहेकाले सहभागी हुनु भएको थिएन । 

मन्त्रालयको सङ्ख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुन(कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन । 

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६