प्रदेश

बुटवल ज्योतिनगर पहिरो नियन्त्रणको काम अघि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र ।



बुटवल, १४ असोज । बुटवल ज्योतिनगर पहिरो नियन्त्रणको काम अघि बढाउन  नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेल सहितको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी ज्ञापनपत्र बुझाएका छन ।  

टोलीमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, बुटवल वडा नम्बर ४ का अध्यक्ष टंक पराजुली, बुटवल १ का अध्यक्ष महेन्द्र लिगल र बुटवल १३ का वडा अध्यक्ष नारायण पुन सहितको टोलीले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेको हो। 

नेता पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन, पहिरो नियन्त्रण, बुटवलको संरक्षणका साथै गुरुयोजना निर्माण र प्रभावितहरुलाई पुनर्स्थापनाका बजेटको व्यवस्था गर्नुपर्ने बताए। ‘वन तथा वातावरण मन्त्रालय र राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई निर्देशन दिनुहोस’ पौडेलले भने। 

ज्ञापनपत्र बुझदै प्रधानमन्त्री देउवाले बुटवलको संरक्षणका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने बताए । उनले चुरे क्षेत्रको संरक्षणका लागि गुरु योजना बनाएर अघि बढ्ने बताए। नेता पौडेल २१ भदौमा पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी पहिरो नियन्त्रणको लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए। 

भदौ १३ र असोज ४ गते गरी बुटवल–३ ज्योतिनगरमा चुरेबाट झरेको पहिरोले २० भन्दा बढी घर पुरिएका छन् भने, ज्योतिनगर बस्ती नै जोखिममा परेको छ। बुटवलको ज्योतिनगर चुरेको फेदमा पर्छ। ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो। 

त्यतिबेला पहिरोले झरेर ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरे समग्र बुटवल क्षेत्रलाई नै जोखिमपूर्ण बनाएको छ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६