कपिलवस्तु १५ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका १० को पटना मेचकुरीमा दुई दिने बाली उपचार शिबिर तथा बिषादी सचेतना कार्यक्रम सुरु भएको छ । शिविरको पहिलो दिन ५४ जना कृषकले बाली जाँच गराएका छन् भने करिब ६० भन्दा बढि कृषकले परमर्श लिएका छन् ।बाणगंगा नगरपालिका कृषि बिकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आजबाट सुरु भएको हो । बाली नालीमा लाग्ने रोगको समस्या, समाधानको उपाय, बिषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाईदा बेफाईदा लगायत कृषिसंग सम्बन्धित बिबिध जानकारी कृषक समक्ष सम्पे्रषण गर्नु कार्यक्रमको उद्देश्य रहेको बाणगंगा नगरपालिकाका कृषि बिकास शाखा प्रमुख लेस बहादुर के.सीले बताएका छन् ।
विहिवार र शुक्रबार हुने कार्यक्रममा कृषकहरुले नमुनाका रुपमा ल्याएका बिभिन्न बाली नालीहरुका समस्यालाई प्रयोगात्मक तरिकाबाट परिक्षण गरि रोगको पहिचान गरि उपचार बिधि समेत बताई कृषकहरुलाई सचेत बनाउने गरि अगाडी बढ्ने केसीले बताए । यस्तै कार्यक्रममा बिशिष्ट अतिथि कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रबिन्द्रनाथ चौबेले पछिल्लो समय बालीनालीमा लाग्ने रोगको संक्रमणबाट बचाउनका लागी प्रयोग गरिने बिषादिको दुरुपयोग भएको बताए ।
कार्यक्रमा उनले बिषादीको प्रयोग गर्न जानेमा कृषि क्षेत्रमा सोचे जस्तो उपलब्धि हासिल गर्न सकिने तर यसको गलत प्रयोगले मानिसको ज्यान समेत जान सक्ने बताउँदै उहाँले यस बिषयमा जानेर बुझेर मात्रै प्रयोग गर्न तथा सम्बन्धित स्थानबाट मात्र खरिद गर्न सुझाब दिए। यसैबिच बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले कृषि क्षेत्रको बिकास र बिस्तारका नगरपालिकाका सदैब तत्पर रहेको बताउँदै कृषकको माग र आवश्यकता अनुसार यस्ता कार्यक्रमहरु गर्दै नगरलाई कृषि क्षेत्रको नमुनाको रुपमा स्थापित गर्न नगर प्रतिबद्ध रहेको जिकिर गरे ।
यस्तै बाणगंगा नगरपालिकाका निमित्त प्रमुख बाबुराम भट्टराईले कपिलवस्तुको बाणगंगा नगरपालिका देशभरिमै कृषि क्षेत्रको सम्भावना बोकेको नगर भएको र यहाँ उत्पादन भएका खाद्यान्न ७७ वटै जिल्लामा पुगेको बताउदै कृषिको क्षेत्रमा नगरपालिकाको तर्फबाट लगानीमा कुनै पनि कमी नहुने उनको भनाई छ ।
प्रतिक्रिया