प्रदेश

भारतबाट रोजगारी गरी घर फर्किनेको ​चहलपहल बढ्यो ।



डोटी, १५ असोज ।  भारतमा रोजगारी गरी दशैँ मनाउन घर फर्किनेको सङ्ख्या बढेसँगै डोटीलगायत सुदूरपश्चिमका जिल्लामा चहलपहल बढ्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्चिमवासीहरु दशैँ नजिकिँदै गएकाले घर फर्किन थालेका छन् । अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ ।

घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । रोजगारीका लागि अधिकांश नागरिक भारत जाने भएका कारण यहाँका गाउँघर सुनसान भएका थिए । अहिले उनीहरु धमाधम गाउँ फर्किन थालेका कारण गाउँमा निकै रौनकता छाएको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो,ुकामका लागि भारत गएकाहरु घर फर्किन थालेका छन्, अहिले यहाँका गाउँघरमा सहरभन्दा बढी चहलपहल बढेको छ । दशैँका लागि घर पोत्ने, कमेरो लगाउने लगायतका काम समेत सुरु भएको उहाँले बताउनु भयो । 

डोटीको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँ खेती लगाएर परिवारसहित रोजगारीका लागि भारत जानु भएको थियो । भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैँका लागि भन्दै उहाँ फेरि परिवारसहित अहिले घर फर्किनु भएको छ । किसनसिंह मात्र होइनन् रोजगारका लागि भारतलगायत अन्य देश गएका सुदूरपश्चिमेलीहरु अहिले धमाधम घर फर्किन थालेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दैनिक दुई सयदेखि तीन सय नेपाली कैलालीका त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किने गरेका छन् । घर फर्किएका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडीहरु पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट आउने नागरिकको सङ्ख्या बढेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।

भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर र गड्डाचौकी नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी प्रमुख तथा डीआईजी पुरुषोत्तम  कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, नेपालीलाई घर फर्किँदा सीमामा कुनै पनि समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको छ, कुनै समस्या भए प्रहरीलाई खबर गर्दा हुन्छ ।

डोटीमा दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता कक्ष समेत स्थापना गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले गाडी जाँचमा कडाइ तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न बजारमा गस्ती समेत गर्दै आएका छन् ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६