काठमाण्डौ, १५ असोज । एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ३७ रनले हराएको हो ।
ललितपुरले दिएको दुई सय २७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८९ रन बनायो । विराटनगरका लागि दिलशन मुनावीराले ५९, आशिफ शेखले ३७, चन्द्रपल हेमराजले २८ र सिकन्दर राजाले २४ रन बनाए ।
ललितपुरका अजमतुल्लाह ओमरजाईले चार, ललित राजवंशीले दुई र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २६ रन बनायो । यो ईपीएलमा अहिलेसम्मकै ठूलो योगफल हो । ललितपुरका लागि सन्दुन वीराकोदीले ७३ र अजमतुल्लाह ओमरजाईले अविजित ५८ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३२ र योगेन्द्र सिंह कार्कीले २७ रनको योगदान गरे ।
विराटनगरका करण केसीले दुई विकेट लिँदा सिकन्दर राजा, प्रतिस जीसी र दिलशन मुनवीराले समान एक–एक विकेट लिए ।
यो जितसँगै ललितपुर तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने विराटनगर वारियर्स अझै जितविहीन छ । आजकै अर्को खेलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् ।
प्रतिक्रिया