कपिलवस्तु १९ असोज। मुख्यमन्त्री केसीले पार्टीको केन्द्रीय नेतृत्व गुहारेको रहस्य खुलेको छ। सरकार बनेको दुई महिना पुग्न लाग्दासम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन मुख्यमन्त्री केसी र गठवन्धन दलका नेताहरु असफल भएका छन् । खासगरी माओवादी केन्द्रभित्रै मन्त्रीका आकांक्षी धेरै भएकाले मन्त्रीको टुंगो लगाउन सकस परेको हो । गठबन्धनको सहमतिअनुसार सरकारमा माओवादीले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र कांग्रेसले चार मन्त्रालय पाएको छ । जसपालाई तीन र स्वतन्त्र सांसदले एक मन्त्रालयमा सहमति गरेका थिए ।
सरकार गठन भएकै दिन जसपाबाट सहषराम यादव, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही मन्त्री बनिसकेका छन् । कांग्रेसबाट डिल्ली बहादुर चौधरीलाई मात्र मन्त्री बनाइएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बाहेक कृष्णध्वज खड्का मन्त्री बनेका छन् । तर अन्य तीन जना मन्त्रीको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती आफ्ना पति एवं पूर्व अर्थमन्त्री वर्षमान पुन विरामी भएर विदेशमा भएकाले पनि मन्त्रीको नाम टुंगो लगाउन ढिलाइ भएको माओवादी केन्द्रका एक नेता बताउँछन् । अर्कोतर्फ एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको पनि प्रदेशसभामा उपस्थिति भएपछि उक्त पार्टीले पनि मन्त्रीमा दाबी गरेको छ । उक्त पार्टीबाट रमा घर्ती एकजना मात्र सांसद छिन् ।
माओवादी केन्द्रमा सभामुखसहित १९ प्रदेशसभा सदस्य छन् । केही सांसदले मन्त्री पद नपाए पार्टी छोड्ने धम्की दिएकाले मुख्यमन्त्री केसीले केन्द्रीय नेतृत्वसँग सहयोग मागेका छन् । ‘प्रदेशस्तरबाट मन्त्रीको टुंगो लगाउन नसकेपछि मुख्यमन्त्री केसीले पार्टीको केन्द्रीय नेतृत्व गुहारेको सत्य हो,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘मन्त्रीको लोभमा साथीहरुले प्रदेशसभामा रहेका विषयगत समितिको सभापति बन्न समेत मानिरहनुभएको छैन ।’
सरकारका प्रवक्ता खड्काले दशैं अगाडि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । ‘धेरै दलको गठबन्धन सरकार भएकाले स्वभाविक रुपमा निर्णयमा पुग्न समय लाग्दोरहेछ,’ खड्काले भने, ‘दशैं अगाडि नै मन्त्रिपरिषदले पूर्णता पाउँछ।
प्रतिक्रिया