प्रदेश

उपचारका लागि टिकट काट्ने पैसा थिएन, झाडापखालाले घरमै प्राण गयो ।



 जानु पाण्डे,  २० आश्विन  । कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शौच गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकैको खेतमा पुगेका थिए । चारपटकसम्म पातलो दिसा भयो । दैनिक ज्याला मजदुरी गर्ने केवटले त्यो दिन काम पाएका थिएनन् । काम नभएपछि उनी घरमै थिए ।

राति ९ बजेपछि उनको स्वास्थ्यमा झन थप समस्या आउन सुरु भयो । पातलो दिसासँगै बान्ता पनि भयो । झाडा बान्ताका कारण केवटले उपचार नपाइ ज्यान गुमाए । केवटको घरदेखि शिवराज अस्पतालको दूरी करिब ३ सय मिटर छ । कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्पतालमा उपचारका लागि धेरै खर्च पनि लाग्दैन ।

२० रुपैयाँमा इमरजेन्सी टिकट काटेर उपचार गर्न सकिन्थ्यो । तर, केवट परिवारसँग टिकट काट्ने पैसासमेत थिएन । पैसा नभएपछि केवटका पत्नी दुखनाले अस्पताल जाने आँटसम्म गरिनन् । रात ११ बजे उनले घरमै प्राण गुमाए । ‘अस्पतालमा लाग्ने टिकट काट्न पैसा थिएन । पैसा नभएपछि उपचार गराउन जान सकिन । दाह संस्कार गर्नसमेत छिमेकी वमन सिंहले कफन किनेर दिएका हुन्,’ दुखना भन्छिन् , ‘घरमा अरू कसैलाई केही भएको छैन । ४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो । झाडापखालाको कारणले आफ्नो पति गुमाउँछु भन्ने लागेको थिएन । टिकट काट्न २० रुपैयाँ भएको भए अस्पताल पुराउँथे होला । ’

अति विपन्न केवट एक पत्नी तीन छोरा र दुई छोरीसहित सानो झुप्रोमा बस्दै आएका थिए । इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भएको उनको घर छ । रामप्रसादको मृत्यु भएपछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले ३ हजार रुपैयाँ सहयोग गरेका छन् । आर्थिक अवस्था अति न्यून भएको कारणले उनका छोराछोरीले स्कुल देखेनन् । भारत बस्दै आएका जेठा छोरो कोरोनाको कारणले रोजगारी गुमेपछि नेपाल बस्दै आएका छन् । माइलो छोरा तीन दिनदेखि स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका छन् । कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्थिन् । तर केही महिना अघि पाँचवटै बाख्रा मरे । 

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६