अर्थ-वाणिज्य

नेता कुमारको इन्काउण्टर प्रकरणमा अदालतको आदेशपछि १० जना बिरुद्ध मुद्धादर्ता



सर्लाही, २० असोज । दुई वर्षअघि प्रहरीसँगको मुठभेठमा मारिएको भनिएका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ का नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ ।जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको सर्लाहीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलले असोज ११ मा ‘जाहेरी दर्ता गरेर अदालतलाई जानकारी गराउनु’ भन्ने आदेश गरेका थिए । २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जङ्गल नजिक प्रहरीको गोली लागेर नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ का नेता पौडेलको मृत्यु भएको थियो ।पौडेललाई कब्जामा लिएर गोली हानेर हत्या गरिएको परिवारको दाबी छ । तर, प्रहरीले सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ । हुलाकबाट पठाएको जाहेरी दर्ता नगरेको भन्दै कुमारकी आमा दुर्गादेवी पौडेलले २०७७ मंसिर १२ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

२०७६ माघ २३ मा सर्लाहीका तत्कालीन एसपी विश्वमणि पोखरेल र सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख प्रकाश कोइरालाले जाहेरी नलिएपछि दुर्गादेवीले २०७६ माघ २४ मा हुलाकबाट जाहेरी पठाएकी थिइन् । सो जाहेरी प्रहरीले सनाखत गर्न अस्वीकार गरेपछि दुर्गादेवी पौडेल सर्वोच्च पुगेकी हुन् । हुलाकबाट पठाएको जाहेरी जिल्ला न्यायाधिवक्ताको रोहबरमा निवेदीका तर्फबाट सनाखत गराउन न्यायाधीश सिन्हा र फुयाँलले आदेश गरेका थिए ।

घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान गरेको थियो । आयोगले २०७६ कार्तिक ४ मा प्रतिवेदनसहित घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सो सिफारिसलाई बेवास्ता गरेको थियो ।

१० जनाविरुद्ध किटानी जाहेरी : 

आफ्नो छोराको गैरन्यायिक हत्या गरिएको भन्दै दुर्गादेवीले १० जनालाई विपक्षी बनाएर हुलाकबाट जाहेरी पठाएकी थिइन् । सो जाहेरी न्यायाधिवक्ताको रोहबरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले निवेदीकाबाट सनाखत गराएको छ ।सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इप्रका लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरका सई सूर्यकुमार कार्की र जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डलविरुद्ध किटानी जाहेरी दिइएकोछ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हवल्दारहरु सत्यनारायण मिश्र र विनोद शाह तथा इन्सपेक्टर कृष्णदेव प्रसाद शाह (केडी) बिरुद्ध पनि किटानी जाहेरी दिइएको छ । पीडित पक्षले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि योजनामा संलग्न भएको जिकिर गरेका छन् ।इन्काउन्टर हुँदा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए । गृहमन्त्री र आइजीपीको योजनामा आफ्ना छोरालाई कब्जामा लिएर ‘हत्या’ गरिएको दुर्गादेवीले दाबी गरेकी छिन् ।

इन्सपेक्टर कृष्णदेवप्रसाद शाह नेतृत्वको टोलीले हानेको गोलीबाट कुमार पौडेलको ज्यान गएको थियो ।उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको थियो । तत्कालीन आइजीपी खनालले प्रहरी हेडक्वार्टरमा कार्यरत इन्सपेक्टर शाह, हवल्दार सत्यनारायण मिश्र र विनोद शाहलाई खटाएर हत्या गरेको पीडितको आरोप छ ।घटनाबारे गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको जवाफ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएको प्रतिक्रिया समेतका आधारमा उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने दुर्गादेवीले जिकिर गरेकी छिन् ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६