काठमाडौं, २१ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ गठबन्धनको बैठक चल्दा चल्दै बालुवाटारबाट बाहिरिएका छन् । दिउँसो २ बजे पार्टी स्थायी कमिटी बैठकको बीचमै मन्त्री हुनेको सूची लिएर बालुवाटार पुगेका उनी दुई घण्टाभन्दा धेरै छलफलमा बसेर बाहिरिएका हुन् ।
गठबन्धनका दलहरुले मन्त्रीको भागवण्डा गरिसकेका छन् । जस अनुसार नेपालको एकीकृत समाजवादीको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ । बालुवाटारमा मन्त्रीको संख्या र मन्त्रालय विभाजनबारे आफ्नो पार्टीको असन्तुष्टि राखेर अध्यक्ष नेपाल बाहिरिएका हुन् । उनी फेरि पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने जनाइएको छ ।
समाजवादीको आजको बैठकमा गतिला मन्त्रालय आफ्नो भागमा नपरेको र मन्त्री संख्या पनि कम भएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए । समाजवादीको बैठकले मन्त्री छान्ने जिम्मा पनि नेपाललाई नै दिएको नेता विरोध खतिवडाले बताएका छन् । गठबन्धन सरकार निर्माणका लागि निर्णायक भूमिका खेले पनि आफूहरुलाई अन्याय पारिएको गुनासो समाजवादीको छ ।
कांग्रेस, समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको टुंगो नगरेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने जस्तो आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम हुँदै गएको छ । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो गरिसकेको छ । कांग्रेसमा देउवा र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डामा विवाद छ । यस्तै जसपाले मन्त्रीको टुंगो गरिसकेको छैन ।
प्रतिक्रिया