कपिलवस्तु २२ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७ सुख्खरामपुरका ३२ वर्षीय साहिन खानलाई गत आईतवार वान्ता र पखला लाग्यो । छिनछिनमै पखला लागेपछि खान घर नजिकै रहेको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार लागि पुगे । त्यसलगतै कृष्णनगर नगरपालिका ८ का ७० वर्षीय तौलेश्वर मिश्र पनि पखलाकै कारण शिवराज अस्पतालमा पुगे । मिश्रलाई वान्ता आउने,पखला लाग्ने पेट दुख्ने लगाएत समस्याले पिडित बनायो । आईतवार वेलुका एक घण्टाको अन्तरालमा खाँन र मिश्र जस्तै अन्य बिरामीहरुको पनि घुईचो लाग्यो । अस्पताल भरिभराउँ भयो । सिकिस्त बिरामीहरु छटपटाउन थाले । अस्पतालमा उपचार सम्भव नभएपछि मिश्रलाई तौलिहवामा रहेको कपिलवस्तु अस्पताल रिफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भैरहवा मेडिकल कलेज पठायो । तीन दिनको उपचार पश्चात मिश्र अहिले घर आएका छन् । बाचिएला जस्तो लागेको थिएन्,दुई दिन निकै गाह्रो भयो, मिश्रले भने म ठिक भएपनि श्रीमतीलाई अहिले उस्तै समस्या छ, । ६५ वर्षीय उनकी श्रीमती अन्नपूर्ण मिश्र अहिले बहादुरगञ्ज अस्पतालमा उपचाररत छिन् ।
यस्तै सोहि गाउँका अनुसहमा मुसलमानको परिवारका १६ जना सदस्य मध्ये १४ जनामा झाडापखला र वान्ताको समस्या देखियो । मंगलवार देखि परिवारका सबै सदस्यमा देखिएको यो समस्याले परिवारमा रुवाबासी चल्यो । परिवारका १२ जना सदस्यहरु अस्पतालमा उपचार गराएपछि अहिले निको भएर घर फर्किएका छन् भने दुई जना उपचाररत रहेका छन् ।
गत पाँच दिन देखि फैलिएको रोग झाडाबान्ताका कारण अहिले यस आसपासमा त्रास सिर्जना भएको छ । यस रोगबाट अहिलेसम्म ४६१ जना वढी विरामी परेका छन् । जसमध्ये ३६६ डिस्चार्ज ३७ जना रिफर र हाल उपचार कक्षमा ५८ जना रहेका छन् ।
कसरी फैलियो झाडापखला ?
यस ठाउँका नागरिकहरुले माथिल्लो सतहको ट्युवेलको पानिको प्रयोग र खानेपानी संस्थानवाट वितरण गरिएको पानीको सप्लाई पाईप फुट्दा बाहिरको फोहोरमैला पानीमा मिश्रीत भएको हुनसक्ने स्थानिय व्यापारी अब्दुल रहमानको भनाई छ । चेतनाको अभावका कारण सरसफाईमा ध्यान नहुदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाई छ । यस गाउँका नागरिकहरुले फोहोरो स्थानमा माछा मार्ने र फोहोरो पोखरीमा पौडिने,खुल्ला शौच गर्ने लगाएतका कारण हुन सक्ने अनुमान छ ।
अस्पतालमा वेड छैन ।
शिवराज अस्पतालको क्षमता १५ वेडको रहेपनि बिरामीहरुको सख्या बढी हुदाँ उपचार कठिनाई भएको अस्पतालका डा मुकेश चौधरीले बताए । अहिले क्वारेन्टाईनका लागि बनाएको वेडहरु प्रयोग ल्याई बिरामीको खुल्ला आकाश मुनि उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचारको लागि डाक्टरको अभाव हुदा थप समस्या भइरहेको जनाएको छ । प्रदेश र जिल्ला वाट केहि डाक्टरहरु पठाएपनि रातको समयमा फिर्ता हुने भएकोले समस्या रहेको अस्पताल प्रशासनको भनाई छ ।
बिरामीलाई सर्प र लामखुट्टेको त्रास ।
शिवराज अस्पतालमा उपचारको लागि आएका बिरामीहरुको खुल्ला ठाउँमा उपचार हुदाँ सर्प र लामखुट्टेको त्रास बढेको छ । अस्पतालको बाहिरी क्षेत्रमा झाडि र फोहोर हुदाँ बिरामीहरुमा त्रास रहेको छ । झाडा वान्ताको समस्या त छदै छ त्यसमाथि लामुखट्टेको टोकाई र सर्पले डस्छ कि भन्ने चिन्ता छ । दिउसोको समयमा केहि सहज भएपनि रातको समयमा बिरामीलाई मात्र नभई कुरुवालाई पनि समस्या रहेको कुरुवा हरि जयसवालले बताए । बिरामीलाई खुल्ला आकाश भन्दा त्रिपाल लगाइदिएमा सहज हुने उनको भनाई छ ।
औषधिको अभाव छैन स्वास्थ्य कार्यालय ।
झाडापखलाका बिरामीलाई निरन्तर उपचार गरिरहेको शिवराज अस्पतालमा औषधिको अभाव भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अस्पतालमा आवश्यक सम्पुर्ण औषधिहरु अस्पतालमा पुराइएको हेमराज पाण्डेले बताए । स्वास्थ्य कार्यालयका अनुसार झाडापखला फैलिएको स्थानमा पानी शुद्धिकरणको लागि पियुष,चक्की,जिवनजल,अक्वाट्याव लगाएत सचेतनाको लागि डाटा संकलन र सर्वेक्षण गरिरहेको पाण्डे बताए । जिल्ला विभिन्न गैरसरकारी संस्था लगाएत निकायहरुले स्वास्थ्य सामाग्री र जनचेतनाका कार्यक्रमहरु गरिरहेको छ ।
ट्युववेलको पानीमा कोलिफर्म देखियो ।
कृष्णनगर नगरपालिका को वडा नं ७ सुखरामपुरमा करीब ४० फिट गहिरो ट्युववेलको पानी दुषित देखिएको छ । सुखरामपुरकै करीब १०० फिट गहिरो ट्युववेलको पानी र वडा नं ८ बहादुरगंजस्थित खानेपानी संस्थानको धाराको पानीको नमुना संकलन गरी बाणगंगा नगरपालिका स्थित भु पु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ल्यावमा जाँच गराउँदा करीब ४० फिट गहिरो ट्युवेलको धाराको पानीमा २% कोलिफर्म भेटिएको हो । अन्य धाराहरुमा कोलिफर्म नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उक्त प्रकोप फौलिन नदिनको लागि जिल्ला प्रशासन कार्यालयले सम्वन्धित निकायहरुवाट स्वास्थ्यको टोलिहरु खटाएकोले उक्त जोखिम पहिलेको तुलनामा कमि आएको छ । के कारणले यो प्रकोप फौलिएको भन्ने वारेमा अनुसन्धान गर्न केन्द्रको टोली आएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
भारतसँग जोडिएको यो नगरका विभिन्न गाउँमा प्रकोप फैलिएसगै नेपाल भारतको आवतजावत गर्नेहरुको सख्यामा पनि कमि आएको छ । बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी रहेका छन् ।
प्रतिक्रिया