काठमाण्डौ,२४ असोज । गृह मन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । गृह मन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताउनुभएको हो ।
आज आइतवार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले त्यो घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दै गृह मन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस क्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली नागरिकको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली नागरिकले अनाहकमा जीवन गुमाउन नपरोस् भन्नेमा हामी गम्भीर छौँ । नागरिकको जीवन रक्षाका लागि, महिला दिदीबहिनीहरूको रक्षाका लागि राज्य र सरकार गम्भीर छ । यी भएका घटनाहरूको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुनअनुसार नै कारबाही हुन्छ ।
गृह मन्त्री खाणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको बताउनुभयो ।
त्यस क्रममा महिला अधिकारकर्मीहरूले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनुपरेको बताउनुभयो । उहाँले सरकारले यो घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।
महिला अधिकारकर्मीहरूले यो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगञ्जबाट पैदल नै काठमाण्डौ आइ शान्तिपूर्ण प्रर्दशन गरिरहेकाहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन् ।








प्रतिक्रिया