प्रदेश

गोरखकाली मन्दिरबाट हनुमानढोकाको दशैँघरमा फूलपाती पठाइयो ।



काठमाण्डौ, २६ असोज । गोरखाको गोरखकाली मन्दिरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गएराति गोरखामा विधिपूर्वक सङ्कलन गरिएको फूलपाति आज बिहान बा २ झ २१२९ नम्बरको सरकारी मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

यो वर्ष गोरखा दरबार हेरचाह अड्डाका पुजारी कुलबहादुर थापा फूलपाती लिएर काठमाण्डौ जानु भएको हो । हनुमानढोकामा फूलपाती लैजानका लागि पुरातत्त्व विभागले काठमाण्डौबाट मोटर पठाएको थियो ।

गएको वर्षहरुमा कोरोना सङ्कटका कारण संक्षिप्त रुपमा कार्यक्रम गरी फूलपाती पठाउने गरिएकोमा यो वर्ष भने बाजागाजासहित हर्षोल्लासका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो ।

गोरखकाली मन्दिरको दशैँ घरको फूलपाती काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा पठाउने परम्परा करिब ४ सय वर्ष पुरानो रहेको उहाँको भनाइ छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट हनुमानढोका दशैँघरमा फूलपाती लैजाने परम्परा बसेको हो ।

उहाँले १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नुभएको थियो । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । तर जङ्गबहादुर राणाको उदयपछि फूलपातीको परम्परा बन्द भएको भुषालले बताउनुभयो । काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौ पठाउने चलन सुरु भएको उहाँको भनाइ छ ।

त्यही परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि मोटरमार्फत फूलपाती काठमाण्डौ पठाइएको भुषालले बताउनुभयो । यसप्रकारको परम्पराले गोरखा दरबार र हुनमानढोकाको ऐतिहासिक पक्षलाई जीवन्त राख्न सहयोग पुग्ने उहाँको भनाइ छ । पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको यस परम्परालाई पुरानै शैलीमा निरन्तरता दिनुपर्ने गोरखा सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

पुरानो हुलाकी मार्ग हुँदै फूलपाती लैजाने परम्परालाई जोगाउन सके इतिहासको संरक्षण र प्रवर्द्धन सहयोग पुग्ने उहाँको विश्वास छ । 

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६