कपिलवस्तु, ३१ असोज । प्रर्याप्त बर्षा र मलखादको सहज आपुर्तिका कारण कपिलवस्तुमा यस बर्ष धान उत्पादन बृद्धि हुने अनुमान गरिएको छ । मौसम अनुकुलताका कारण यस बर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो । यो बर्ष मनसुन समयमै आएको र प्रशस्त पानी परेकाले खाद्यान्न भकारीकारुपमा चिनिएको कपिलवस्तुमा धान उत्पादन ५ देखि ७ प्रतिशतले बढने कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्रनाथ चौबेले बताए ।
यस बर्ष जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरिएको छ । जसबाट २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत बर्ष ७१ हजार २ सय हेक्टरमा गरिएको धान खेतीबाट २ लाख ७१ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो । चाडै पाक्ने धान काटने चटारोमा रहका कृषकहरुलाई आईतावार परेको बेमौसमी बर्षाले भने समस्या पारेको छ । बैमौसमी र त्यससंग आएको हावाहुरीले चाडै पाक्ने जातको धान खेतमै ढलाउदा केही क्षति भएको कृषकहरुले बताएका छन् ।
अहिले सम्म कृषकहरु धान उत्पादन राम्रो भएकोमा खुशी देखिएको तर आज आईतावरको बेमौसमी बर्षाले कृषकहरु समस्यामा परेको कृषक संघका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताउनुभयो । समममै बर्षा र मलखादको उपलब्धताले यस कपिलवस्तुमा धान उत्पादन राम्रो भएको उनले बताए ।
जिल्लाको कुल खेतीयोग्य जमीन करीब ८३ हजार हेक्टर रहेको छ । जसमध्ये यो बर्ष ७१, हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा करीब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ । खेती गरिने उन्नत जातमा मुख्यरुपले राधा–४, साँभा मसुली, सावित्री, रामधान, गोल्डेन मसुली, रहेका छन भने हाइब्रिड धानमा ६४४४, सम्पूर्णा, गोरखनाथ लगायतका धानको खेती हुने गरेको छ । यसको अलावा कपिलवस्तु जिल्लाको पहिचानको रुपमा रहेको मसिना तथा वासनादार धानको रुपमा कालानमक तथा बासमतीको खेती हुने गरेको कुरा कृषि ज्ञान केन्द्र, कपिलवस्तुले जनाएको छ । यस्तै धान काट्ने समयमा भारि बर्षा भएपछि कपिलवस्तुका किसानहरु चिन्तति भएका छन् ।
प्रतिक्रिया