प्रदेश

नयाँ नेतृत्वका लागि १०औँ महाधिवेशन चितवनमा: नेकपा एमाले



चितवन ५ कात्तिक  । नयाँ नेतृत्वका लागि नेकपा एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने भएको छ । आगामी १०–१२ मंसिरसम्म हुने महाधिवेशनको व्यवस्थापनको संयोजकमा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । माओवादी केन्द्र छाडेर एमालेतर्फ लागेका बादल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला चितवन हो । आगामी चुनावमा प्रचण्डको विरुद्धमा उमेदवारी दिन सक्ने बादलले बताइसक्नु भएको छ । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेका अनुमान गरिएको छ । एमालेले भने चितवन देशकै मध्यभागमा पर्ने भएकाले चितवनमा महाधिवेशन गर्न लागिएको बताएको छ ।             नेकपा एमाले चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि १०औँ महाधिवेशनले मुख्यगरी दुईवटा सन्देश दिने बताएको छ । अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै देशको ठूलो पार्टी भएको सन्देश दिइने एमालेको स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले बताउनु भयो ।‘अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो ।         महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिने छौँ’, अधिकारीले भन्नुभयो । त्यसैगरी देशलाई समाजवादतर्फ लैजाने प्रष्ट दृष्टिकोण भएको पार्टी एमाले नै भएकाले जनताले ढुक्कसँग विश्वास गर्न सक्ने खालको पार्टीका रूपमा स्थापित गरिने उहाँले बताउनु भयो ।  १०औँ महाधिवेशनको खुलासत्र र बन्द सत्र कहाँ गर्ने भन्नेमा एमालेले टुंगो भने लगाइसकेको छैन । एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले चितवनमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिबेशनमा देशभरबाट करिब पाँच लाख नेता कार्यकर्ता सहभागी हुने नेकपा एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताउनु भयो ।              अबको एक हप्ताभित्र महाधिवेशनको खुला र बन्दसत्र कहाँ गर्ने भनेर भेन्यू निर्धारण गरि केन्द्रमा पठाउँछौँ । सम्भाव्य क्षेत्रको खोजी भइरहेको छ । सकभर भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ’, पोखरेलले भन्नुभयो, ‘महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान छ । त्यसकारण नारायणी किनार हुनसक्छ वा अन्य कुनै ठाउँ त्यो हेर्ने छौँ ।    ’उहाँका अनुसार एमालेमा नवीकरण गरेको सदस्यको संख्या सात लाख छ । आगामी चुनावमा पाँच गठबन्धनको प्रतिस्पर्धीका रूपमा एमाले रहने सन्देश पनि महाधिवेशनबाट दिइने पोखरेलले बताउनु भयो । आगामी चुनावमा एमाले एक्लैले २०७४ सालमा वामगठबन्धनले पाएको मतभन्दा राम्रो मत ल्याएर देखाउने उहाँको भनाई छ । एमालेले महाधिवेशनका लागि जनतासँग कुनै चन्दा असुल नगर्ने एमालेले बताएको छ । आफ्ना कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै महाधिवेशनको आयोजना गर्ने पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६