काठमाडौं ६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नामको पछाडि पार्टी अध्यक्ष र संसदीय दलको नेता लेखाउनकै लागि एमाले छाडेर नेकपा एकीकृत समाजवादी दल गठन गर्नुभएका माधवकुमार नेपालसँगको सहकार्य निकै घाँडो बनेको खुलासा गर्नुभएको छ ।आफ्नो गृहप्रदेश सुदुरपश्चिमबाट कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवसँगको सहकार्य आफ्नै लागि मात्र नभएर देशका लागिसमेत घाँडो बनेको तथ्य खोल्नुभएको हो । सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नुभएका देउवाले सत्तारुढ गठबन्धनबीचको भित्री लडाईले आफू दिक्क बनेको संकेत गर्नुभयो ।खासगरी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बिषयलाई प्रचण्ड र माधवले सत्ताको भागबण्डाको बार्गेनिङको हतियार बनाएको भन्दै देउवाले सहकार्य घाँडो बनेको संकेत दिनुभयो । आफ्नै गृहप्रदेशबाट पत्रकारमाझ एमसीसीको बिषयमा देउवाले अघि बढाउने घोषणा पनि गर्नुभयो । प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी सत्तारुढ गठबन्धनको बिषय भएको र संसदमा आएको खण्डमा सोही बेला निर्णय लिने जनाइसकेको छ । प्रधानमन्त्री देउवाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमसीसीको बिरोध गर्ने सत्ता गठबन्धनकै दुई नेता प्रचण्ड र माधवप्रति कडा आक्रोशसमेत पोख्नुभयो । उहाँले भन्नुभयो, ‘ एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन, सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन यार ।’ प्रधानमन्त्री देउवाको यो आक्रोश प्रचण्ड र माधव नेपालप्रति नै रहेको छ । प्रधानमन्त्री देउवाले एमसीसीको बिरोधमा एउटा कूतत्व रहेको भन्दै प्रचण्ड र माधवलाई कडा प्रहार गर्नुभयो ।‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ प्रचण्ड र माधवतिर लक्षित गर्दै देउवाले भन्नुभयो, ‘नेपालमा एउटा यस्तो कूतत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार ।’
६ कार्तिक २०७८, शनिबार








प्रतिक्रिया