तुलसीपुर ७ कार्तिक। नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर धमाधम बक्यौता महशुल उठाउन थालेको छ ।विद्युत महसुल समयमा बुझाउन नआएका ब्यक्ति, संस्था, सरकारी कार्यालयहरुको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । कार्तिक १ गते यता ५ दिनमा मात्रै ११ लाख २९ हजार बक्यौता रकम बुझाउन बाकि रहेका ७० ग्राहकको लाईन काटिएको प्राधिकरणले जानकारी दिएको छ । यस आर्थिक बर्ष २०७८/७९ को हाल सम्म प्राधिकरणले २३ लाख ७९ हजार बक्यौता रकम बुझाउन बाँकी ८७ ग्राहकको लाईन काटेको छ ।
धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ग्राहकहरु महसुल बुझाउन आउने गरेको बिधुत प्रधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिएका छन । अटेरी गरेर भन्दा पनि सेवाग्राहीहरु लापरवाहीले गर्दा महशुल बुझाउन नआउने गरेको उनले बताएका छन ।बेलैमा विद्युतको खपत गरेबापतको रकम बुझाए जरिवानाबाट समेत बच्न सकिने उनको भनाई छ । कोही कसैले पनि बिधुत महशुल नतिरी उम्कन नपाउने हुदा समयमै महशुल तिरी लाग्ने जरीवाना बाट बच्न उहाले सेवाग्राहीहरुलाई आग्रह समेत गरेका छन ।आर्थिक बर्ष ०७७/०७८ मा प्रधिकरणले ६३ लाख ८८ हजार बक्यौता तिर्न बाकि रहेका २८५ ग्राहकको लाईन काटेको थियो । अहिले सम्म जम्मा ग्राहकहरुबाट प्रधिकरणले ५ करोड ६७ लाख बक्यौता रकम लिन बाँकी रहेको छ । यस आर्थिक बर्षको अन्त्य सम्म ३ करोड असुल गर्ने लक्ष्य रहेको प्रमुख फर्सालले जानकारी दिएका छन।
मिटर रिडिङ भएको ६० दिनदेखि बढी भएका महसुुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको हो । विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था रहेको छ ।
लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विद्युत जडान गरिने प्रधिकारणले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले ४६ हजार ५७ ग्राहक संख्या रहेको छ।
७ कार्तिक २०७८, आइतबार








प्रतिक्रिया