प्रदेश

चाउचाउ र चिउराकै भरमा छाक टारेका बर्दियाका बाढी प्रभावितलाई राहतको विशेष प्याकेज दिन्छौः वरिष्ठ नेता पौडेल



बर्दिया, ७ कार्तिक ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आइतवार बाढीबाट प्रभावित बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा नेता पौडेलले बाढी पीडितहरूलाई राहतका लागि काठमाण्डौ गएर विशेष प्याकेज ल्याउने बताउनुभएको छ । 

बर्दियाका धेरैजसो बाढी पीडितहरूले ६ दिनदेखि चाउचाउ र चिउराकै भरमा बिहान र बेलुकीको छाक टारेकोे बताएका छन् । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि टहरामा बस्दै आएका बाढी पीडितहरूले खाद्यान्नका नाममा चाउचाउ, बिस्कुट र चिउराबाहेक केही नपाएको बताएका छन् ।

स्थानीयवासीका घर पूरै हिलोले भरिएका छन् । घर भत्किएपछि केही पीडितहरू आफन्तको घरमा बसिरहेका छन् भने केहीले त्रिपाल पाएको र केहीले खुला आकाशको भरमा बस्न बाध्य भएको गुनासो पोखेका छन् । बाढी कम भए पनि स्थानीयवासीलाई अहिले घरभित्रको हिलो पन्छाउन भ्याइनभ्याइ छ । पालिकाले भने बाढी पीडितहरूलाई राहत बाँडिरहेको बताएका छन् । पश्चिम नेपालकै सबैभन्दा बढी धान खेती हुने बर्दियाको राजापुर क्षेत्रमा बेमौसमी वर्षाका कारण आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका झन्डै ११ सय घरपरिवारमा क्षति पुर्याएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । 

बाढीले बर्दियामा झन्डै ३५ हजार हेक्टरमा लगाइएको धान सखाप पारेको छ । कर्णाली नदीको बाढी गाउँ पस्दा बर्दियाका झन्डै आठ हजार बढी स्थानीयवासी प्रभावित भएका छन् । सरकारले तत्काल आफूहरूका लागि खाद्यान्न र बासको जोहो गर्ला भन्ने आसमा बसेका बाढी प्रभावितहरु प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन मात्रै दिएपछि निराश बनेका छन् ।

बर्दियाका स्थानीयवासीले आफूहरूले हरेक वर्ष बाढीको त्रास भोग्दै आएको भन्दै कर्णाली नदीमा बलियो तटबन्ध बनाउन माग गरेका छन् । 

यसैबीच कार्यक्रममा ठाकुरबाबा नगरपालिका नेपाली कांग्रेसका नगर सभापति पदमबहादुर खड्काले विभिन्न मागसहित नेता रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउनुभएको छ । 

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६