प्रदेश

सडकबाट कसैले चिच्याउँदैमा राजीनामा नदिने:चोलेन्द्रको घोषणा



 काठमाडौं १० कार्तिक । न्यायालयमा जारी गतिरोधका कारण मंगलबार पनि न्यायाधीशहरूको इजलास बस्न सकेन । प्रधानन्यायाधीशले पेसी तोके लगत्तै सर्वोच्चका १५ न्यायाधीश बिहान ११ः३० बजे प्रधानन्यायाधीश लाई भेट्न गए । सोमबारकै बैठकको निर्णयअनुसार मंगलबारको भेटपछि उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरे ।तर, प्रधानन्यायाधीश जबराले सडकबाट कसैले चिच्याउँदैमा राजीनामा नदिने र आफू संवैधानिक प्रक्रियाबाट आएका कारण संवैधानिक प्रक्रियाबाट मात्रै बहिर्गमनमा जाने जवाफ दिए । प्रधानन्यायाधीशको जवाफ सक्छौ भने महाभियोग लगाएर पारित गराऊ भन्ने आशयको थियो ।मध्यान्ह सवा १२ बजे बैठक सकिएपछि पनि न्यायाधीशहरू इजलासमा गएनन् । बरु फेरि आन्तरिक छलफलमा जुटे र पूर्ववत् निर्णय अर्थात् प्रधानन्यायाधीशको राजीनामामा एक मत भए । न्यायाधीशहरू इजलासमा नबसी  भावी रणनीति बनाउने छलफलमा लागेपछि मंगलबार पनि दैनिक पेसीमा ‘बेञ्च नबसेको’ लेखियो । अर्थात् न्यायाधीशहरूले औपचारिकरुपमा नभने पनि बेञ्च बहिष्कारलाई जारी राखिरहे ।हुन त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारको पेसीमा चलाखीपूर्ण ढङ्गबाट गुट चलाउने प्रयास गरेका थिए । प्रधानन्यायाधीशको विरोधमा खुलेर लागेका न्यायाधीशहरू समेटेर संयुक्त इजलास तोकेका थिए भने आफूनिकटका मानिएका न्यायाधीशहरूलाई समेटेर अर्को संयुक्त इजलास तोकेका थिए । मंगलबारको पेसीमा न्यायाधीश नहकुल सुवेदीलाई मात्रै एकल इजलासमा पेसी तोकेका थएमंगलबार छलफलमा सहभागी एक न्यायाधीशका अनुसार प्रधान न्यायाधीशले न्यायाधीशहरूमा फाटो ल्याउने नियतका साथ संयुक्त इजलासको पेशी तोकेका थिए ।  ती न्यायाधीशले भने, ‘आफ्नो विरुद्धमा उत्रिएका न्यायाधीशहरूले पेसी बहिष्कार गरेको खण्डमा पनि आफूनिकट मानिएका वा आफूलाई सहयोग गरिरहेका न्यायाधीशहरू इजलासमा बस्छन् भन्ने उनको सोच देखियो । तर, हामी सबै न्यायाधीशहरू न्यायपालिकाको गरिमा बचाइराख्न र जनविश्वास कायम राख्न पनि प्रधानन्यायाधीशको राजीनामाबाट पछि हट्न नहुने निष्कर्षमा पुग्यौँ र इजलास बहिस्कार गर्‍यौँ जसका कारण प्रधानन्यायाधीशले सोचेको जस्तो भएन ।’प्रधानन्यायाधीशले मेरो मान्छे भनेका व्यक्तिहरू पनि न्यायपालिकालाई कुनै एक व्यक्तिको कारण बदनाम गराउनुहुँदैन भन्नेमा एकमत भएको र जबरालाई साथ नदिएको बताउँदै ती न्यायाधीशले भने, ‘अब को कता भन्ने कुरा नै रहेन । सबै न्यायाधीशहरू न्यायपालिकामा आँच आउन दिनुहुँदैन भन्नेमा एकमत हुनुभयो । मंगलबारको छलफलको निष्कर्ष पनि यही भयो ।’

‘सुसाइड गर्दैनौँ, ब्याक हुने ठाउँ छैन’

छलफलमा सहभागी अर्का एक न्यायाधीशका अनुसार अब न्यायाधीशहरू आफ्नो मागबाट पछाडि हट्न सक्ने अवस्थामा छैनन् । प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमामा आँच आउने काम गर्नुभएको र न्यायपालिकालाई आफ्नो स्वार्थका लागि राजनीतिक सौदावाजीमा लगेको छलफलको निष्कर्ष रहेको भन्दै यस्तो व्यक्तिबाट न्यायपालिकाको नेतृत्व सम्भव नहुने निष्कर्षमा पुगेको ती न्यायाधीशले बताए ।

उनले अगाडि भने, ‘अब हामी ब्याक हुने ठाउँ छैन । हामी ब्याक हुनु भनेको हामीले सुसाइड गर्नु हो । त्यसकारण हामी सुसाइड गर्न सक्दैनौँ । किनभने, न्यायाधीशहरूले धेरै छलफल गरेर गरेको निर्णयमा पुनर्विचार गर्ने भन्ने कुरा नै आउँदैन । अब ब्याक हुने ठाउँ छैन ।’

ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीश पटक–पटक विवादमा आउँदा न्यायपालिकाको भरोसामा आँच आएको र जनविश्वास गुम्न थालेको छ । हरेक मुद्दामा कार्यपालिका वा राजनीतिक नेतृत्वसँग बार्गेनिङ गर्ने व्यक्ति न्यायपालिकाको प्रमुख रहँदा जनताले न्याय पाउने सम्भावना पनि रहँदैन, जसका कारण प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आफूहरू बेञ्चमा नबस्ने ती न्यायाधीशले बताए।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६