काठमाण्डौ, १४ कार्तिक । इटलीको राजधानी रोममा जी–२० को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वका प्रभावशाली देशसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरु सहभागी छन् ।
सम्मेलनमा भौतिक वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था छ । चीनका राष्ट्रपति सी जिन पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरु भर्चुअल माध्यमबाट सहभागी भएका छन् । सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोना भाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल केन्द्रित छ ।
सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शीर्षकमा छलफल केन्द्रित भएको थियो । त्यसैगरी दोस्रो दिन आज ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रित हुनेछ । सम्मेलनको नेतृत्व सम्मेलन आयोजक इटलीका राष्ट्रपति मारियो ड्राघीले गर्नुभएको छ ।
अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी–२० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो । जी–२० अन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली सङ्घ पर्छन् ।
प्रतिक्रिया