चितवन १४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई दिन चितवनमा रहने हुनुभएको छ । दशौं महाधिवेशनको आयोजना गर्ने निर्णयपछि महाधिवशेन स्थलको अवलोकनदेखि दासढुंगासम्म भ्रमण गर्ने गरी अध्यक्ष ओली चितवन आउन लाग्नुभएको हो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा अध्यक्ष ओलीले बिभिन्न भेटघाट र पार्टी कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ । एमाले नेताहरुका अनुसार दुईदिने चितवन बसाइँका क्रममा अध्यक्ष ओली दासढुंगादेखि प्रस्तावित अयोद्याधामसम्म पुग्ने कार्यक्रम छ ।सोमबार सडक मार्गहुँदै चितवन आउँदा ओलीले नारायणगढ–मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुहुनेछ । २०५० जेठ ३ गते जीप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय ढंगले मृत्युु भएको थियो । सोही स्थलमा पुगेर अध्यक्ष ओलीले माल्यार्पाण गर्ने कार्यक्रम रहेको चितवन एमालेले जनाएको छ । दासढुंगापछि अध्यक्ष ओली केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्नुहुनेछ ।
त्यसलगत्तै भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी अध्यक्ष ओलीले केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उदघाटन गर्ने कार्यक्रम रहेको छ । भरतपुर–१० मदननगरमा एमाले चितवन पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो । एमालेको दशौं महाधिवेशन चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।
यस्तै अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको दिउँसो ४ बजे निरिक्षण गर्नुहुनेछ । यसैगरी कात्तिक १६ गते बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनि पानीजहाजको अवलोकन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली १६ गते नै माडी अयोध्याधाम पुग्ने कार्यक्रम समेत रहेको छ ।








प्रतिक्रिया