१६ कात्तिक, मकवानपुर । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाव दिएका छन् । काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने धारणा राखे । यस्तै नेता पौडेलले ढिलाई गर्दै गए उनको बर्हिगमन अपमानजनक हुने तर्क गरे। उनले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप समेत लगाए ।
उनले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरे । फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए । त्यसका लागि पुस्तान्तरण नभइ नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उनको तर्क थियो ।








प्रतिक्रिया