अर्थ-वाणिज्य

देशको व्यापार घाटा कम गर्ने अथाह स्रोत–साधान सङ्खुवासभामा छः अर्थ मन्त्री शर्मा



सङ्खुवासभा, १६ कार्तिक । अर्थ मन्त्री जनार्दन शर्माले नेपालको व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधनहरू सङ्खुवासभामा रहेको बताउनुभएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पूर्वी पहाडी जिल्लाको सङ्खुवासभामा मात्रै अथाह स्रोत–साधान रहेको बताउँदै जलविद्युतलगायतका क्षेत्रमा यो जिल्लाले कायापलट गर्ने बताउनुभयो । 

‘हामी नेपालीहरू गरिब छैनौँ, हामीसँग अथाह स्रोत–साधान छ । यही जिल्लामा जलविद्युतको थुप्रै सम्भावना छ । सरकारले एक हजार मेगावाटभन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीहरूलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘हामीसँग भएको स्रोत–साधनलाई राम्ररी परिचालन गर्ने हो भने नेपालीहरू सक्षम बन्न सक्छन् भन्ने लाग्छ ।’

सङ्खुवासभामा किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत् परियोजनालगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पुर्‍याउने मन्त्री शर्माको भनाइ थियो ।

उहाँले फरक प्रसङ्गमा, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका बारेमा गठबन्धनको सरकारको बैठक बस्न बाँकी रहेकाले सरकारले यस्तै गर्ने भन्ने धारणा बनाइ नसकेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहनुभएका शर्मा जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिन सङ्खुवासभा आउनुभएको हो ।

एक दिने बसाइमा अर्थ मन्त्री शर्माले सङ्खुवासभाका सरकारी कार्यालय प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योग व्यवसायी लगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ । अर्थ मन्त्री शर्मा बुधवार (भोलि) काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६