कपिलवस्तु २२ कार्तिक । कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको तयारी अन्तिम चरणमा पुगेको हो । कपिलवस्तुसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् ।
जिल्लामा जनगणनाका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिनुभयो । जसका लागि कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक खटिएको प्रमुख कुर्मीले बताउनुभएको छ । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा कार्तिक १३ देखि १६ गते नै तालिम दिई सकिएको उहाँले जानकारी दिनुभयो ।
दुई चरणमा गरिने जनगणनामा यसअघि कपिलवस्तुमा १३९ सुपरीवेक्षकहरुले पहिलो चरणको काम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । अब दोस्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्ने उहाँको भनाई छ । नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन जिल्ला जनगणना कार्यालय दाङका प्रमुख कुर्मीले आग्रह गर्नुभएको छ ।
गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै उहाँले व्यक्तिगत विवरण सुरक्षित रहने बताउनुभयो । १०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने जनाउँदै कुर्मीले नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।
बाणगंगामा १०६ जना गणक खटिने जनगणना अधिकारी टंक प्रसाद आचार्यले जानकारी दिनुभएको छ । बुद्धभूमिमा प्रश्नावली वितरणको कार्य सम्पन्न भईसकेको र बाणगंगामा पनि अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धभूमिमा ७७ जना गणक खटिदै छन् ।
प्रतिक्रिया